Logo
१८ असोज २०८३, आईतबार

कांग्रेसको १५औं महाधिवेशन आजबाट : नेता भन्दा नीति चयन प्राथमिकतामा

अक्षरपाटी
२०८३ असोज १८ , आईतबार ०६:१० मा प्रकाशित

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशन आजबाट सुरु हुँदैछ। महाधिवेशनलाई नेता चयन भन्दा नीति चयनको महाधिवेशनका रुपमा अघि बढाउने रणनीति बनाएको छ।

महाधिवेशनमा देश भित्र र प्रवासबाटसमेत गरि ७ हजार ५ सय भन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्।

कांग्रेसले यसपटकको महाधिवेशनलाई नेता चयन भन्दा कांग्रेसको अबको पाँच वर्षे नीति,कार्यक्रम र राजनीतिक मार्गचित्र कस्तो हुने भन्ने तय गर्ने महासभाका रुपमा लिएको छ। यसरी नीति तय गर्दा परिवर्तनलाई संस्थागत गर्ने नीति कांग्रेसले लिनेछ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक नेता चयनलाई भन्दा नीति निर्माणलाई महाधिवेशनमा प्राथमिकता दिइनेछ।

नेता चयन त प्रक्रियागत ढंगबाट स्वभाविक रुपमा हुन्छ, यसपटक नेता मात्र होइन अब पाँच वर्ष कांग्रेस कुन नीतिमा हिड्छ भन्ने निर्णय यो महाधिवेशनले गर्छ।´

प्रवक्ता चालिसेले भने, त्यसैले १५औँ महाधिवेशनलाई नेता चयन भन्दा नीति चयनको महत्त्वपूर्ण बाटोका रुपमा लिएका छौं।´

प्रवक्ता चालिसेका अनुसार कांग्रेसको अबको नीति सभापतिको कार्यपत्रमा आउने छ।

यसपटक देखि कांग्रेसले विधानमानै ब्यवस्था गरेर देशभर कांग्रेसलाई नयाँ पुस्तासँग जोड्ने वैधानिक अधिकार प्रदान गरिसकेको छ। विभिन्न पेशा तथा क्षेत्र छुट्याएर कांग्रेसले तल्लो तहदेखि उपल्लो तहसम्म यसपटक प्रतिनिधित्व सुरक्षित गराएको छ।

`सबै वर्गलाई पार्टीको नीति बनाउने तहमा प्रतिनिधित्व विधानमा गराइएको छ, विदेश तथा प्रवासमा रहेकाहरू पनि कांग्रेसको केन्द्रीय समितिमा रहने ब्यवस्था गरिएको छ।´ प्रवक्ता चालिसेले भने।

उनले कांग्रेसको संरचनागत सुधार यसपटकको महाधिवेशनको मुल विषय हुनेछ। कांग्रेसले १५औँ महाधिवेशन मारफत अब `शासन होइन परिणाम´ भन्ने नीति लिने तयारी गरेको छ।

यसैगरी कांग्रेसले विधान संसोधनका लागि महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा काम गरिरहेको छ। पौडेल नेतृत्वको समितिले विधान संसोधनका लागि सुझाव लिएर प्रस्ताव तयार गर्ने काम गरिरहेको छ।

सो प्रस्ताव महामन्त्री पौडेलले महाधिवेशनको बन्दसत्रमा छलफलका लागि प्रस्तुत गर्नेछन्।