


अरूसा, तान्जानिया । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभाका क्रममा तान्जानियाको अरूसा पुगेको नेपाली प्रतिनिधिमण्डलले भोटेकोशी र त्रिशूली नदीमा हालै आएको बाढी तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्लाई सन्दर्भमा राख्दै ‘हिमालयी क्षेत्र तथा अन्य जोखिमपूर्ण क्षेत्रहरूमा जलवायु-सम्बन्धी विपद्हरूको सामना गर्न र उत्थानशीलता सुदृढ पार्न तत्काल संसदीय कदम’ शीर्षकको आपत्कालीन एजेन्डाका विषयमा आईपीयू सचिवालयसँग छलफल गरेको छ।
छलफलमा जलवायुजन्य विपद्बाट प्रभावित तथा संवेदनशील क्षेत्रमा जोखिम न्यूनीकरण, विपद् पूर्वतयारी, उत्थानशीलता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय संसदीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ।
उक्त प्रस्तावलाई आईपीयू महासभाबाट पारित गराउन नेपालले भोलि विभिन्न सदस्य राष्ट्रका प्रतिनिधिमण्डलसँग छलफल गरी समर्थनका लागि मत माग्ने कार्यक्रम तय गरेको छ।
यसैबीच, सभामुख डोल प्रसाद (डीपी) अर्यालको नेतृत्वमा रहेको नेपाली संसदीय प्रतिनिधिमण्डल र अष्ट्रेलियाका सभामुख मिल्टन डिकको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भेटमा नेपाल–अष्ट्रेलिया संसदीय सम्बन्ध, आपसी अनुभव आदानप्रदान तथा आगामी दिनमा संसदीय सहकार्य थप विस्तार गर्ने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
तान्जानिया

