


काठमाडौं । भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको निधन भएको छ। ७५ वर्षीय पाटेकरको बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा गम्भीर हृदयघातपछि निधन भएको हो।
गोवाको डोना पाउला क्षेत्रमा रहेको घरमा उनी अचेत अवस्थामा भेटिएका थिए। तत्काल मणिपाल अस्पताल पुर्याइए पनि चिकित्सकहरूले उनलाई बचाउन नसकिएको बताएका छन्। मणिपाल अस्पतालका डा. शेखर सालकरका अनुसार उनलाई करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिइएको थियो।
त्यसका बाबजुद उनको शरीरले प्रतिक्रिया नदिएपछि बिहान करिब ५ः२० बजे मृत घोषणा गरिएको हो। पाटेकरको निधनसँगै हिन्दी तथा मराठी चलचित्र मात्र होइन सिंगो कलाकारिता क्षेत्रमा शोक छाएको छ। चार दशकभन्दा लामो अभिनय यात्रामा उनले पर्दामा अनेकौं चरित्रलाई यति जीवन्त बनाएका थिएक कि उनका संवाद, हाउभाउ र अभिनयको छाप दर्शकको स्मृतिमा लामो समयसम्म रहिरहनेछ।
अभिनयमा छुट्टै पहिचान
१ जनवरी १९५१ मा महाराष्ट्रमा जन्मिएका विश्वनाथ पाटेकर ‘नाना पाटेकर’ नामले भारतीय चलचित्रमा परिचित भए। सन् १९७८ को ‘गमन’ बाट हिन्दी चलचित्रमा प्रवेश गरेका उनले पछि ‘परिन्दा’, ‘प्रहार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अपहरण’, ‘अब तक छप्पन’, ‘राजनीति’ र ‘वेलकम’ जस्ता चलचित्रमा प्रभावशाली अभिनय गरे।
गम्भीर चरित्रदेखि खलनायक र हास्य भूमिकासम्म आफूलाई सहज रूपमा ढाल्न सक्ने पाटेकरको अभिनय शैली अन्य कलाकारभन्दा फरक थियो। विशेषगरी उनको दमदार संवाद अदायगी र चरित्रभित्र पस्ने क्षमताले उनलाई बलिउडका विशिष्ट अभिनेतामा स्थापित गरेको थियो।
तीनपटक राष्ट्रिय चलचित्र पुरस्कार
नाना पाटेकरले भारतीय चलचित्रको सर्वोच्च सम्मानमध्ये एक राष्ट्रिय चलचित्र पुरस्कार तीनपटक जितेका थिए। उनले ‘परिन्दा’का लागि सन् १९९० मा उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार पाए। त्यसपछि ‘क्रान्तिवीर’ का लागि सन् १९९५ मा उत्कृष्ट अभिनेताको पुरस्कार जिते। ‘अग्निसाक्षी’का लागि सन् १९९७ मा पुनः उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरे।
अभिनयमा पुर्याएको योगदानका लागि उनलाई सन् २०१३ मा भारत सरकारले ‘पद्मश्री’बाट समेत सम्मान गरेको थियो।
पर्दामा कलाकार, वास्तविक जीवनमा सैनिकसँगै
नाना पाटेकरको जीवनको अर्को कम चर्चित तर असाधारण अध्याय उनको भारतीय सेनासँगको सम्बन्ध थियो। सन् १९९९ को कारगिल युद्धका बेला उनी चलचित्रको व्यस्त करियरबाट केही समय अलग भएर भारतीय सेनासँग जोडिएका थिए।
अगस्त १९९९ मा उनले नियन्त्रण रेखा (एलओसी) नजिक सैनिकहरूसँग समय बिताएका थिए। उनी सेनाको ‘क्विक रेस्पोन्स टिम (क्यूआरटी)’ को हिस्सा बनेका थिए र केही समय बेस अस्पतालमा समेत सहयोग गरेका थिए।
पछि अमिताभ बच्चनको लोकप्रिय कार्यक्रम ‘कौन बनेगा करोडपति’मा सहभागी हुँदा उनले कारगिलमा बिताएको समयबारे सम्झिएका थिए। उनका अनुसार श्रीनगर पुग्दा आफ्नो तौल ७६ किलो थियो, तर सेनासँगको कठोर अनुशासन र कठिन परिस्थितिका कारण फर्किँदा तौल घटेर ५६ किलो पुगेको थियो।
अभिनयमा राष्ट्रप्रेम र सैनिक चरित्रलाई पर्दामा उतार्ने कलाकारका रूपमा चिनिएका पाटेकरले वास्तविक जीवनमै पनि सैनिकहरूसँग समय बिताएका थिए। त्यसैले उनको व्यक्तित्व केवल चलचित्रको पर्दामा सीमित थिएन।
‘वेलकम’देखि गहन चरित्रसम्म
पाटेकरले एकातिर ‘क्रान्तिवीर’, ‘परिन्दा’ र ‘अब तक छप्पन’ जस्ता गहन चलचित्रमा आफ्नो अभिनय क्षमता प्रमाणित गरे भने अर्कोतिर ‘वेलकम’ जस्तो हास्यप्रधान चलचित्रमा ‘उदय शेट्टी’को भूमिकामार्फत नयाँ पुस्तामाझ समेत उत्तिकै लोकप्रियता कमाए।
उनका संवाद र अभिनय शैली सामाजिक सञ्जालको नयाँ पुस्तामाझ समेत लामो समयसम्म चर्चित रह्यो र रहीरहनेछन्। गम्भीर, विद्रोही, खलनायकदेखि हास्य पात्रसम्म हरेक भूमिकामा उनले आफ्नो छुट्टै छाप छोडे।
७५ वर्षको उमेरमा उनको आकस्मिक निधनले भारतीय चलचित्रले एउटा सशक्त कलाकार गुमाएको छ। पर्दामा आवाज, अनुहार र संवादमार्फत चरित्रलाई जीवन्त बनाउने नाना पाटेकर अब सम्झनामा मात्र रहनेछन्। तर उनले चार दशकभन्दा बढी समय भारतीय सिनेमामा छोडेको प्रभाव भने लामो समयसम्म जीवित रहीरहनेछ।


