


गोरखा । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले तीन गाउँपालिकाका विभिन्न स्थानमा घर तथा पुलमा क्षति पुर्याएको छ। बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित सल्लेरीमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्पसमेत बगाएको छ भने पाँच जना गोठाला सम्पर्कविहीन भएका छन्।
बाढीका कारण जोखिममा परेका छ जनाको नेपाली सेनाले हवाई उद्धार गरेको छ। बाढीले चुमनुब्री, आरुघाट र धार्चे गाउँपालिकाका विभिन्न बस्ती तथा पूर्वाधारमा क्षति पुर्याएको हो।
स्थानीय पत्रकार शिव उप्रेतीका अनुसार चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा राति करिब ४ बजे पहिरो खसेर खोला थुनिएपछि बाढी आएको हो। त्यसपछि बूढीगण्डकी नदीमा पानीको सतह बढ्दा नदी आसपासका बस्ती तथा संरचनामा क्षति पुगेको उनले जानकारी दिएका छन्।
बाढीले चुमनुब्री गाउँपालिका–३ को जगत बगरमा रहेका नौ, सल्लेरीका पाँच र ठाडो भञ्ज्याङका तीन घर बगाएको बताइएको छ। त्यस्तै, भ्याको झोलुङ्गे पुल, फिलिम–न्याक्चेत जोड्ने झोलुङ्गे पुल र ठाडो भञ्ज्याङको झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ।
आरुघाट गाउँपालिका–१ र ३ जोड्ने मान्बु–सोती मोटरेबल पुल तथा धार्चे गाउँपालिका–१ र ३ जोड्ने दोभान खोलाको बेलीब्रिज बाढीले बगाएको छ। आरुघाट गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने आरुघाटस्थित मोटरेबल पुलमा समेत क्षति पुगेको छ।
उङ्गिलुङ खोलाको किनारमा रहेको गोठमा बस्दै आएका पाँच जना गोठाला सम्पर्कविहीन रहेको स्थानीय दिपेश लामाले जानकारी दिएका छन्। उनीहरूको खोजी तथा उद्धारको अवस्था र बाढीबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ।
यसैबीच, प्रधानमन्त्री बालेन शाहले बूढीगण्डकीमा आएको बाढीपछि जोखिममा रहेको जगत क्षेत्रबाट छ जनाको हवाई उद्धार गरिएको जानकारी दिएका छन्। उनका अनुसार खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टरसमेत परिचालन गरिएको छ।
बूढीगण्डकी नदीमा पानीको सतह खतराको तहभन्दा माथि रहेको र घटबढ भइरहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार त्रिशूली नदीको बेनीघाटसम्म अति उच्च जोखिम रहेकाले सुरक्षित तथा अग्लो स्थानमा जान आग्रह गरिएको छ। मुग्लिनसम्म उच्च जोखिम रहेको तथा चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा मध्यम जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ।
गोरखा बाढीले बगायो बूढीगण्डकी

