




धनुषा/झापा । तिहार लक्षित गरी भारतबाट भन्सार छली नेपाल भित्र्याइएका करिब २६ लाख ८७ हजार रुपैयाँ बराबरका फूल धनुषा र झापाबाट बरामद गरी नष्ट गरिएको छ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुराबाट सशस्त्र प्रहरीले १ लाख २४ हजार रुपैयाँ बराबरको १३० किलो सयपत्री र ३० किलो रजनीगन्धाको फूल बरामद गरेको हो।
भारतबाट दुईवटा मोटरसाइकलमा फूल ल्याउँदै गरेका व्यक्तिहरू सशस्त्र प्रहरीको टोलीलाई देखेपछि मोटरसाइकलसहित फरार भएका थिए।
त्यस्तै, झापाको भद्रपुर नगरपालिका–८ देवीबस्तीबाट सशस्त्र प्रहरीको टोलीले विशेष सूचनाका आधारमा २५ लाख ६३ हजार ४ सय रुपैयाँ बराबरका भारतीय फूल बरामद गरेको छ।
बरामद फूलमा २२ लाख ६८ हजार ४ सय रुपैयाँ बराबरका ११ हजार ३४२ थान सयपत्री फूलका माला र २ लाख ९५ हजार रुपैयाँ बराबरका १२ झोला कमलका फूल रहेका छन्।
दुवै जिल्लाबाट बरामद फूल सम्बन्धित कार्यालय परिसरमा खाल्डो खनी पुरेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
धनुषामा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा पत्रकारहरूको रोहवरमा र झापामा प्रतिनिधिहरूको उपस्थितिमा फूल नष्ट गरिएको हो।
फूल बरामद भन्सार छली

