Logo
१० मंसीर २०८३, बिहीबार

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

अक्षरपाटी
२०८३ मंसीर १० , बिहीबार ०१:११ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ।

बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोषलगायत सम्बन्धित निकायका प्रतिनिधिसँग मन्त्रालयमा छलफल भएको छ।

मन्त्रालयले यसअघि पनि विभिन्न चरणमा सरोकारवालासँग छलफल गर्दै आएको जनाएको छ।

मन्त्रालयका अनुसार आवश्यक छलफल र गृहकार्यपछि स्वास्थ्य बीमा ऐन संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकिएको छ।

कानुनी प्रक्रिया पूरा भएपछि विधेयक छिट्टै सङ्घीय संसद्मा दर्ता गर्ने तयारी छ।

प्रस्तावित संशोधनमा स्वास्थ्य बीमाको योगदान सङ्कलन र सेवा भुक्तानीलाई व्यवस्थित गर्ने, सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई बीमाको दायरामा ल्याउने व्यवस्था प्रस्ताव गरिएको छ।

आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको उपचार खर्च राज्यले व्यहोर्ने व्यवस्था पनि संशोधनमा समेटिएको छ।

यस्तै, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषमार्फत उपलब्ध स्वास्थ्य सुविधाबीच समन्वय तथा एकीकरण गर्ने प्रस्ताव गरिएको छ।

बीमा सेवा सहज बनाउने, स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने विषयलाई पनि विधेयकमा प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्री मेहताका अनुसार स्वास्थ्य बीमालाई उपचार खर्च व्यवस्थापनमा मात्र सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने सरकारको लक्ष्य छ।

आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कानुनी तथा नीतिगत सुधार अघि बढाइएको उनले बताइन्।