Logo
८ पुस २०८१, सोमबार

सहकारी प्रकरण : टीओआरमा सहमति नजुट्दा संसद अनिश्चित

अक्षरपाटी
२०८१ जेठ ६ , आईतबार १२:०५ मा प्रकाशित

काठमाडौं,६ जेठ । सहकारी सम्बन्धी समस्या छानबिन समिति गठन सम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म आइतबारको संसद बैठक नचलाउन विपक्षी दलहरुले आग्रह गरेका छन्।

आज बिहानदेखि जारी कार्यदलको बैठकमा सहमति नजुटेपछि विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुखलाई भेट्न पुगेका थिए। शाहीले सभामुख देवराज घिमिरेलाई भेटेर विपक्षी दलहरूको आग्रह सुनाएका थिए।

विपक्षीले बैठक नचलाउन सभामुखलाई आग्रह गरेका हुन्। कार्यदलमा सहमति गर्न सहयोग मागेपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि उक्त बैठकमा सहभागी छन्।

आइतबार बिहान ११ बजे बस्ने तय भएको संसद् बैठक तत्कालका लागि अनिश्चित जस्तै बनेको छ। यसअघि कांग्रेससहित विपक्षी दलले गृहमन्त्री लामिछानेको जवाफ चित्त नबुझे आजपनि सदन अवरोध गर्ने निर्णय गरेका छन्।

आइतबार बिहान बसेको विपक्षी दलको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रवि लामिछानेले दिने जवाफ सुन्न तयार भएको जनाएका छन्। जवाफ चित्त बुझे सदनअघि बढ्न दिने नत्र विरोध गर्ने विपक्षी दलका सांसदले जनाएका छन्।