Logo
१७ असार २०८२, मंगलबार

भ्रष्टाचारका फाइल खोलेपछि सरकार ढालेको होईन, रविले भ्रम फैलाए : विश्वप्रकाश शर्मा

अक्षरपाटी
२०८१ साउन १३ , आईतबार ०४:०७ मा प्रकाशित

काठमाडौं,१३ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार प्रकरणको फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने आरोप निराधार रहेको बताएका छन्।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले गृहमन्त्रालयले विभिन्न प्रकरणका फाइल खोलेको मिति प्रस्तुत गर्दै निवर्तमान गृहमन्त्री रवि लामिछानले फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने भ्रम छर्न खोजेको समेत बताए।

उनले लामिछाने गृहमन्त्री हुँदा हल्लामात्रै गरिएको भन्दै त्यसबीच कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयाबिरुद्धको फाइल खोजिएको र त्यो पनि निराधार पुष्टि भएको धारणा राखे ।

शर्माले विभिन्न प्रकरणको अनुसन्धानलाई अघि बढाउने जिम्मेवारी नयाँ गृहमन्त्रीलाई आएको भन्दै पूर्वाग्रहमुक्त भएर अनुसन्धान गर्न सुझाव दिए।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण,गिरीबन्धु टी–इस्टेट प्रकरणमा पनि छानविन हुनुपर्ने र त्यसमा मुछिएकालाई छुट दिन नहुने उल्लेख गरे। सरकारलाई विभिन्न सुझाव दिँदै शर्माले सुशासनलाई पहिलो प्राथमिकता बनाएर अघि बढ्न समेत सुझाव दिए।