



काठमाडौँ। कैलालीका तीन स्थानीय तहमा आजदेखि विशेष खोप अभियान सुरु भएको छ। जापानिज इन्सेफलाइटिसको संक्रमण तथा यसबाट हुने मृत्यु बढ्दै गएपछि खोप अभियान सुरु गरिएको हो।
अभियानअन्तर्गत धनगढी उपमहानगरपालिका, लम्किचुहा नगरपालिका र घोडाघोडी नगरपालिकाका ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई जापानिज इन्सेफलाइटिस विरुद्धको खोप दिइँदैछ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा हालसम्म देशभर १२१ जनामा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये ८५ प्रतिशतले जापानिज इन्सेफलाइटिस विरुद्धको खोप नलगाएको पाइएको छ।
यस अवधिमा जापानिज इन्सेफलाइटिसका कारण २६ जनाको मृत्यु भएको छ। मृत्यु भएका सबैले जापानिज इन्सेफलाइटिस विरुद्धको खोप नलगाएको पाइएको मन्त्रालयले जनाएको छ।
मृत्यु भएका व्यक्तिमध्ये ७७ प्रतिशत ५० वर्षभन्दा माथिका रहेका छन्। संक्रमणको अवस्था र खोप नलगाएका व्यक्तिमा जोखिम बढी देखिएपछि जोखिमयुक्त क्षेत्रमा विशेष अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।
जापानिज इन्सेफलाइटिस संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। धानखेत, पानी जम्ने स्थान तथा सुँगुर र हाँस पालिने क्षेत्र आसपास यसको जोखिम बढी हुन सक्छ।
संक्रमण गम्भीर भएमा मस्तिष्कमा असर परी मृत्यु वा दीर्घकालीन स्नायुसम्बन्धी समस्या हुनसक्छ।
मन्त्रालयले अभियानअन्तर्गत लक्षित समूहमा पर्ने सबैलाई तोकिएका खोप केन्द्र वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाउन आग्रह गरेको छ।
खोपका साथै लामखुट्टेको टोकाइबाट बच्न झुलभित्र सुत्ने, हातखुट्टा ढाकिने कपडा लगाउने, झ्याल-ढोकामा जाली राख्ने, उपयुक्त रिपेलेन्ट प्रयोग गर्ने तथा घरवरिपरि पानी जम्न नदिने उपाय अपनाउन पनि मन्त्रालयले अनुरोध गरेको छ।
जापानिज इन्सेफलाइटिस संक्रमण हुँदा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी तथा बान्ता हुनेजस्ता लक्षण देखिन सक्छन्।
गम्भीर अवस्थामा उच्च ज्वरो, चेतनामा परिवर्तन, झट्का आउने, मुर्छा पर्ने वा बेहोस हुने लक्षण देखिन सक्छन्।
यस्ता लक्षण देखिएमा घरमै उपचार गरेर समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पुग्न मन्त्रालयले आग्रह गरेको छ।
नेपालको नियमित खोप कार्यक्रममा १२ महिनाको उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोपको एक मात्रा दिइन्छ।
नियमित खोपबाट छुटेका बालबालिकाले पाँच वर्षको उमेरसम्म जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाउन सक्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।
जापानिज इन्सेप्लाइटिस

