



काठमाडौं, १ असोज। समाज कल्याण परिषद्को आर्थिक वर्ष २०८३/०८४ को पहिलो बैठकले परिषद्को सम्पत्ति व्यवस्थापन, वित्तीय अनुशासन र संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय गरेको छ।
बैठकले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्नुका साथै विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
परिषद्को नाममा रहेका जग्गा तथा अन्य सम्पत्तिको खोजविन गरी यथार्थ अवस्था पहिचान गर्न समिति गठन गर्ने निर्णय भएको छ। यस्तै, भृकुटीमण्डप र इच्छुमतीस्थित परिषद्को जग्गामा बनेका संरचनाको अध्ययन गर्न समिति गठन गरिएको छ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्थानीय साझेदार छनोट गर्दा अपनाउने कार्यविधि परिमार्जन गर्नसमेत समिति गठन गरिएको छ। बैठकले परिषद्को नाममा कायम बेरुजु शून्यमा झार्न कार्ययोजना बनाएर कार्यान्वयन गर्न कार्यालयलाई निर्देशन दिएको छ।
परिषद्को सम्पत्ति संरक्षण, वित्तीय अनुशासन र साझेदारी प्रक्रिया सुधारलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गर्दै बैठक सम्पन्न भएको हो।
समाज कल्याण परिषद्

