काठमाडौं । धादिङमा एक जना पुरूषको हत्या गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ।
गजुरी गाउँपालिका-२ डुँडेठाँटी बस्ने अन्दाजी ६० वर्षीया चुडामणि कँडेलको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका-९ घर भई धादिङ डुँडेठाँटी बस्दै आएका ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्ता छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालका अनुसार चुडामणिको शव चैत २७ गते फेला परेको थियो।
बाहिर हिँडडुल गरिरहने चुडामणि केही दिनदेखि नदेखिएको भन्ने सूचना प्रहरीले पाएको थियो। चुडामणि आफ्नो दुई तले घरमा एक्लै बस्थे। उनकी श्रीमती काठमाडौंमा बस्थिन्। छोरा विदेशमा छन्।
चुडामणि नदेखिएको सूचना स्थानीयबाट पाएपछि चैत २७ गते राति पौने १० बजे राति प्रहरी उनको घरमा पुगेको थियो।
प्रहरीले घरको भुँइ तलाको कोठाभित्र रहेको शौचालयभित्र चुडामणिको शव फेला परेको थियो।
चुडामणिको घाँटीमा डोरीले कसेको अवस्थामा शव फेला परेको थियो। शरीरका विभिन्न ठाउँमा चोटहरू फेला परेका थिए।
शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय धादिङबाट एसपी दिपेन्द्र शाही, इलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपी विकास थापा, जिल्ला अस्पताल धादिङबाट चिकित्सक र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट तालिम प्राप्त कुकुर सहितको टोली खटिएर अनुसन्धान अघि बढाएको थियो।
प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट प्राविधिक सहयोग लिएर पनि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानकै शिलशिलामा प्रहरीले अक्कलबहादुरलाई वैशाख ३ गते पक्राउ गरेको थियो।
पृथलाल र सञ्चलाललाई वैशाख १६ गते पक्राउ गरेको हो। तीनै जना आरोपीलाई पक्राउ गरी आइतबार पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो।
प्रहरीले घटनामा प्रयोग भएको डोरी, कोदालो पनि बरामद गरेको छ। त्यस्तै मृतकको मोबाइलका फुटेका टुक्राहरू पनि बरामद भएको छ।
डिएसपी हमालका अनुसार यस घटनामा संलग्न भएका अक्कलबहादुर र मृतक चुडामणि चिनजानकै व्यक्ति हुन्।
‘उनीहरू दुई जना साथी जस्तै हुन्। अक्कलबहादुर पनि नजिकै बस्ने रहेछन्। चुडामणिको घरमा आउजाउ गर्ने, खानेबस्ने खालको रहेछ,’ उनले भने।
अनुसन्धानको क्रममा चुडामणि र उनकी श्रीमतीबीचको विवादकै कारणले हत्याको घटनासम्म पुगेको खुलेको छ। प्रहरीका अनुसार चुडामणि र उनकी श्रीमतीबीच सम्बन्ध बिग्रिएको थियो।
‘श्रीमती आउजाउ गर्ने त रहेछ। तर सम्बन्ध बिग्रिएकाले खासै बोलचाल पनि छैन,’ डिएसपी हमालले भने, ‘चुडामणिलाई त्यही रिस रहेछ।’
चुडामणिले श्रीमतीको हत्या गर्ने योजनासम्म बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। त्यसबारेमा उनले अक्कलबहादुरसँग सल्लाह गरेका थिए। अक्कलबहादुर पैसा लिएर चुडामणिकी श्रीमतीको हत्या गर्न राजी भएका थिए।
उनीहरूबीच चैतको दोस्रो सातामै हत्या गर्न भनेर लेनदेन भएको अनुसन्धानबाट खुलेको छ। डिएसपी हमालका अनुसार श्रीमतीको हत्या गर्न चुडामणिले चार लाखको सुपारी दिएका थिए। प्रहरीले अक्कल बहादुरको कोठाबाट एक लाख रुपैयाँ पनि बरामद गरेको छ।
सुपारी लिएर गएकाहरुले हत्या नगरेपछि चुडामणिले पैसा फिर्ता मागेका थिए। ‘पैसा लिए पनि उनीहरूले हत्या गर्न सकेनछन्। पटक पटक प्रयास गरेका पनि रहेछन् तर सकेनछन्,’ उनले भने, ‘काम नगर्ने भए पैसा फिर्ता गर्न चुडामणिले दबाब दिएका रहेछन्।’
त्यही निहुँमा अक्कलबहादुर लगायत तीन जनाले मिलेर चुडामणिको घाँटीमा डोरी कसेर हत्या गरेको खुलेको छ। डिएसपी हमालका अनुसार उनीहरूले चैत २४ गते नै हत्या गरेका थिए।
‘पैसा फिर्ता मागेर टर्चर दिएपछि हत्या गरेको भनेका छन्। सुरूमा डोरीले कसेर हत्या गरे, मरेकोरनमरेको यकिन गर्न हतियार पनि प्रहार गरेको छ,’ डिएसपी हमालले भने।
सुपारीबापत पाएको पैसाले उनीहरूले एकै किसिमका ब्रान्डेड कपडा र जुत्ता किनेका थिए। प्रहरी ती सामान पनि बरामद गरेको छ। तीनै जनामाथि अनुसन्धानका लागि अदालतबाट म्याद थप भएको डिएसपी हमालले बताए।
हत्या