काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसले जेन-जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउनु पर्ने बताएका छन्।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ (क) को तेस्रो प्रदेश सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा शिवाकोटीले जेन्जी पुस्ता सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र नवप्रविधिमा बढी क्रियाशील रहेकाले तिनलाई समेट्ने छुट्टै नीति, संवाद र संलग्नता अभियान आवश्यक भएको बताए।
उनले अल्फा जेनेरेसनका लागि पनि दीर्घकालीन दृष्टिका साथ शैक्षिक, सन्देशमूलक र नेतृत्वविकास कार्यक्रमहरू तय गर्नुपर्ने बताए।
सम्मेलनको प्रशिक्षण कार्यक्रममा ‘प्रभावकारी पार्टी सञ्चार र सामाजिक सञ्जालको सदुपयोग’ विषयमा प्रशिक्षण दिएक थिए।
शिवाकोटीले फेक न्युज र गलत सूचनाको पहिचान गर्न सक्ने क्षमतायुक्त कार्यकर्ताको पंक्ति निर्माण गर्नु आजको आवश्यकता भएको बताए।
उनले यस्ता सूचनाको वैज्ञानिक, संयमित र तथ्यमा आधारित खण्डन गर्नुपर्नेमा जोड दिए।
शिवाकोटीले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग मार्फत पार्टीको नीतिहरू जनमानसमा प्रभावकारी रूपमा पुर्याउन सकिने धारणा राखे।
उनले कार्यकर्तालाई सचेत, रचनात्मक र सत्यनिष्ठ हुन आग्रह गरे।
कार्यक्रममा नेपाली कांग्रेस नीति तथा अनुसन्धान प्रतिष्ठानका सदस्य प्रताप पौडेलले पनि प्रशिक्षण दिएका थिए।