मुम्बई । ‘काँटा लगा’ बालेको चर्चित म्यूजिक भिडियोमार्फत रातारात स्टार बनेकी भारतीय अभिनेत्री तथा मोडल शेफाली जरीवालाको निधन भएको छ।
शुक्रबार राति हृदयघातका कारण उनको ४२ वर्षको उमरमा निधन भएको हो।
उनी बिरामी हुनेबित्तिकै पति पराग त्यागीले मुम्बईको अंधेरीस्थित बेलेभ्यू मल्टिस्पेशलिटी अस्पताल पुर्याए पनि चिकित्सकहरूले मृत घोषित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शेफालीले सन् २००२ मा रिलिज भएको रिमिक्स गीत ‘काँटा लगा’ मा आफ्नो ग्ल्यामरस लुक्स र नृत्यले दर्शकमाझ छाएकी थिइन्।
यो गीतले उनलाई ‘काँटा लगा गर्ल’ को उपनाम दिलाएको थियो । भारतीय पप संस्कृतिमा नयाँ युगको सुरुवात गरेको जस पनि उनैले लिएकी थिइन्।
उनले सलमान खान र अक्षय कुमार अभिनीत फिल्म ‘मुझसे शादी करोगी’ मा सानो तर यादगार भूमिका निभाएकी थिइन्।
‘नच बलिए ५’ र ‘बिग बोस १३’ जस्ता रियालिटी शोहरूमा पनि सहभागिता जनाएकी थिइन्, जहाँ उनको जीवन्त व्यक्तित्व र मायालु व्यवहारले दर्शकहरूको मन जितेको थियो।
शेफालीको जन्म सन् १९८२ मा गुजरातको अहमदाबादमा भएको थियो। उनले सरदार पटेल कलेज अफ इन्जिनियरिङबाट सूचना प्रविधिमा मास्टर्स डिग्री हासिल गरेकी थिइन्।
सन् २००४ मा उनले मिट ब्रदर्सका संगीतकार हरमित सिंहसँग विवाह गरेकी थिइन्, तर त्यो सम्बन्ध २००९ सम्म मात्रै चल्यो । पछि, सन् २०१५ मा उनले अभिनेता पराग त्यागीसँग विवाह गरेकी थिइन्।