‘हामीले पनि सेवाग्राहीबाट गुनासो आएपछि थाहा पाएका हौँ, विभागले सूचना जारी गर्नुपर्ने हो । त्यो गरिएको रहेनछ ।’
काठमाडौं । गत सोमबारदेखि करिब देशभरका मालपोत कार्यालयहरुमा ‘सर्वरको कारण’ देखाउँदै सेवा ठप्प भएपछि सेवाग्राहीहरु तीन दिनसम्म घाम ताप्न वाध्य भएका छन्।
सोमबारदेखि ठप्प भएको मालपोत कार्यालयहरुको कामकाज आज बिहीबार पनि पूर्ण रुपमा पुरानै अवस्थामा सञ्चालन हुन सकेको छैन ।
सेवा अवरुद्ध भएपछि असार मसान्तको बेला आफूहरुले मालपोतमार्फत गर्नुपर्ने महत्वपूर्ण काम गर्न नपाएर नोक्सान सहनुपरेको धनगढीबाट सेवाग्राही खगेन्द्र कठायतले अक्षरपाटीसँग गुनासो गरे।
‘असार मसान्तमा सबैखाले आर्थिक कारोबार मिलाउनुपर्ने हुन्छ, त्यसका लागि जगा पास गर्ने, कित्ताकाट, रोक्का गर्ने, ऋण लिन जगाको कारोबार गर्नुपर्ने, ऋण साँटफेर गर्न पनि मालपोत नै धाउनुपर्छ’, ‘कठायतले भने, ‘यहीबेला सर्वर डाउनु हुनु, त्यो पनि तीन-चारदिनसम्म, योभन्दा अर्थपूर्ण के हुनसक्छ ?’
सर्वर नचलेको विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता तथा सहसचिव गणेशप्रसाद भट्ट जिआईडिसी सिस्टम मेन्टिनेन्सको काम भइरहेकाले यस्तो हुन गएको जानकारी आफूलाई आएको बताउँछन् ।
उनले सोही विषयलाई लिएर आफूहरु मिटिङ बसेर छलफल गरिरहेको समेत जानकारी गराए।
प्रधानमन्त्री कार्यालय अन्तर्गतको जिआईडिसी सिस्टमले देशभरका सरकारी तथ्यांक राख्ने गर्छ ।
एक निजी बैंकले समेत पूर्व सूचनासहित बिदाको दिन पारेर सिस्टम अध्यावधिक गर्ने काम गर्छ तर सरकारी निकायले नै हचुवाको भरमा तीन-चार दिनसम्म सर्वर नै नचल्ने गरी अपग्रेट गरेको हो भने पनि यो आफूहरुप्रतिको वेवास्था र हेपाहा प्रवृति भएको गुनासो सेवाग्राहीको छ।
आईटिका जानकारहरु ठूलै डेटा किन नहाेस, सिस्टम अपग्रेट नै मान्ने हो भने पनि २४ देखि ३८ घन्टा लाग्न सक्ने तर तीन-चार दिन नै सिस्टमलाई कारण देखाउनु भनेको नियत अरु नै हुनसक्ने अनुमान व्यक्त गर्छन।
‘त्यो पनि असार मसान्तमै आएर सिस्टमलाई कारण देखाउनु भनेको असली कुरा होइनु’, एक सेवाग्राहीले आक्रोस पोखे ।
‘सर्वरमा खराबी भन्ने हो भने त्यसो हुन भैपरी आउने समस्या जस्तो: बाढी, पहिरो, आगलागी, वा हावाहुरी कारण हुनुपर्छ, त्यसो त भएको छैनन नि !’ आईटिमा रुची राख्ने एक सेवाग्राहीले भने ।
उनको मत छ, सिस्टम अपग्रेट भन्ने हो भने त्यो हुन तीन, चार-दिन समय लाग्दैन, देशभरकै डेटा अपग्रेट गर्न २४ घन्टा लाग्ला !
हुन पनि देशभर लाखौँ ग्राहक भएका ठूला बैंकहरुले समेत सिस्टम अपग्रेट गर्न पूर्व सूचनासहित बिदाको दिन पारेर १२ देखि २४ घन्टाभित्रै सेवा पुनःसञ्चालन गरिरहेका हुन्छन् ।
देशैभरका मालपोत कार्यालयमा सेवा ठप्प भएकोबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सूचना अधिकारी तथा उपसचिव सुमना अर्याल त्यसबारे भूमी व्यवस्था तथा अभिलेख विभागमा सम्पर्क राख्न सुझाउँछिन्।
उनले भनिन्, ‘तीन दिन सिस्टम नचलेको सूचना आएको हो, सिस्टम अपग्रेट गरिँदैछ भन्ने खबर छ, पुरा जानकारी तपाईँ भूमी व्यवस्था तथा अभिलेख विभागबाट लिनुस न है ।’
भूमी व्यवस्था तथा अभिलेख विभागको भने आफ्नै वेबसाइट समेत सञ्चालनमा छैन । हामीले यो समाचार लेखिरहँदा बिहीबार बिहान ११ बजेर ५७ मिनेटसम्म पनि विभागको आफ्नै वेवसाइटमा समस्या थियो।
अहिले पनि कतिपय जिल्लाका मालपोत कार्यालयमा सर्वर नचलेर आफूहरुले सेवा लिन नपाएको सेवाग्राहीको गुनासोबारे मन्त्रालयकै सह-प्रवक्ता दामोदर वाग्लेसँग जिज्ञासा राख्दा उनले पनि आफूहरुलाई विभागले सिस्टमकै कारण बताएको जनाउँदै सेवा सञ्चालन भइसकेको बताए। तर भूमी व्यवस्था तथा अभिलेख विभाग आफ्नै पनि वेवसाइट चलेको भने छैन ।
विना सूचना देशैभरका सेवाग्राहीलाई मार पर्ने काम त नहुनुपर्ने हो नि ? भन्ने जिज्ञासमा उपसचिव तथा सहप्रवक्ता वाग्लेले भने, ‘हामीले पनि सेवाग्राहीबाट गुनासो आएपछि थाहा पाएका हौँ, विभागले सूचना जारी गर्नुपर्ने हो । त्यो गरिएको रहेनछ ।’
उनले प्रधानमन्त्री कार्यालय अन्तर्गतको जिआईडिसी सिस्टमका कारण देशभरमा एकैपटक आठवटा निकायमा समस्या परेको समेत बताए।
तर उनको दाबी छ तीं सबै समस्याहरु अहिले देशभर करिब करिब समाधान भइसकेका छन्। यद्यपि कैलाली, कञ्चनपुर, ताप्लेजुङलगायतका जिल्लाबाट भने आफूहरुले सेवा लिन नपाएको गुनासाहरु अक्षरपाटीले प्राप्त गरेको छ।