Logo
५ भदौ २०८२, बिहीबार

कृष्ण अष्टमी : देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको भीड

अक्षरपाटी
२०८२ साउन ३१ , शनिबार १२:०८ मा प्रकाशित

काठमाडौं। हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन ‘श्रीकृष्ण जन्माष्टमी’ मनाउने धार्मिक परम्परा छ।

यस पर्वका अवसरमा देशभरका श्रीकृष्ण मन्दिरमा एकाबिहानैदेखि भक्तजनको भीड लागेको छ।

हातहातमा फूलप्रसादका थाली, धुपबत्ति लिएर भक्तजनहरु श्रीकृष्णका मन्दिरमा पुगेका छन्।

पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा रहेको नवतनधाममा भक्तजनको भीड लागेको छ।

उत्तरी भेगको बूढानीलकण्ठमा रहेको नेपाल अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत संघ (इस्कोन) को कार्यालय परिसरमा बनाइएको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ।

राजधानीका मुख्य तीर्थस्थल पशुपति क्षेत्रमा रहेका कृष्ण मन्दिर, वसन्तपुर दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर र काठमाडौँ उपत्यकाका चोक, गल्ली एवं कुना कुनामा रहेका कृष्णमन्दिर, नारायण मन्दिर र लक्ष्मीनारायण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ।

उसो त देशभरका श्रीकृष्ण मन्दिरहरुमा आज भक्तजन ओइरिएका छन्। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन्।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्छन्।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।

अन्याय, अत्याचार बढेपछि मानव अवतारका रूपमा पृथ्वीमा आएर साधुको संरक्षण र दुष्टको नाश गर्ने श्रीकृष्णले श्रीमद्भगवतगीतामा अर्जुनका माध्यमबाट आम मानिसलाई शिक्षा दिएका छन्।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ।

कृष्ण अष्टमी