काठमाडौं । रौतहटमा सुटकेसभित्र महिलाको शव भेटिएको घटनामा संलग्न आरोपित आफैंलाई जलाएर घाइते अवस्थामा फेला परेका छन्।
माधवनारायण नगरपालिका–६ माधवपुरका लक्ष्मण पासवान बिसुनपरवा–मानपुर सडकमा जलेको अवस्थामा भेटिएका हुन्। उनलाई उद्धार गरी गरुडास्थित अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी राजु कार्कीले जानकारी दिए।
“आरोपीले आफैंलाई जलाएका थिए। बोल्न सक्ने अवस्थामा छन् र उपचारपछि थप अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ,” डिएसपी कार्कीले बताए।
पासवानले हत्या गरेको स्वीकार पनि गरेका छन्।
गत शनिबार राति रौतहटको गौर नगरपालिका–९, गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा गेट नजिक शंकास्पद सुटकेश फेला परेको थियो। भोलिपल्ट सुटकेश खोलेर हेर्दा २६ वर्षीया रूवीकुमारी साहको शव भेटिएको थियो।
साहको माइती माधवपुर हो भने घर भारतको मुजफ्फरपुर रहेको बुझिएको छ। चार वर्षदेखि रौतहटमै बस्दै आएकी उनी हाल गौर नगरपालिका–२ महादेवपट्टिमा छोरा पढाउन बस्दै आएकी थिइन्। उनका श्रीमान भारतमै बस्दै आएका र घटना सार्वजनिक भएपछि रौतहट आएका थिए।
रौतहट सुटकेसभित्र महिलाको शव