धनुषा । भ्रष्टाचार विरुद्धको आन्दोलनमा होमिएका जेनजी पुस्ताहरुले आज जनकपुरमा प्रदर्शन गरेका छन्।
जानकी मन्दिरमा जम्मा भएका युवाहरु व्यानर बोकेर सरकार विरुद्ध नाराबाजी समेत गरेका छन् ।
बिहान ११ बजे जानकी मन्दिरमा जम्मा भएका युवाहरु नाराबाजी गर्दै शहरको प्रमुख भागको परिक्रमा गर्दै जनक मन्दिर अगाडि पुगेर प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् ।
उनीहरूले ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’लगायतका नारा लगाएका छन् ।
युवा अभियन्ता दिवाकर उप्रेतीले सरकारले युवाहरुको आवाजलाई दमन गर्नको लागि समाजिक संजाल बन्द गरेको आरोप लगाएका छन् ।
दिनको १ बजे देखी युवाहरुको समुहले स्थानिय जनक चोकमा सडक अवरुद्ध गरेर प्रदर्शन गर्दै सरकार विरुद्ध चर्को नाराबाजी गरेका छन्।
प्रदर्शनका कारण सडक अवरुद्ध भएपछि आवत जावतमा भने सडक हिँड्नेहरुलाई समस्या भएको थियो। प्रदर्शनलाई ध्यानमा राखेर बहुसंख्यक रूपमा जनकपुरको चोक चोकमा प्रहरी परिचालन गरिएको छ।
जेनजी पुस्ता



