लेखराज जोशी
कञ्चनपुर ।
नेपालको लोकतान्त्रिक संघर्ष र स्थापनाको इतिहासमा नेपाली कांग्रेस जहिले पनि अग्रणी भूमिका निर्वाह गर्दै आएको ऐतिहासिक पार्टी हो। संविधानसभाबाट संविधान निर्माण भइसकेपछि लोकतन्त्रलाई संस्थागत रूपले स्थायित्व प्रदान गरिएको छ र अब राजनीतिलाई संस्थागत विकासतर्फ अघि बढाउनुपर्ने बेला आएको छ। तर, यतिखेर पार्टीले गम्भीर चुनौतीको सामना गर्नुपरेको छ।
संविधानमाथिको आक्रमण, व्यवस्थागत चुनौती, दलहरूको निराशा र पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित प्रश्नहरूले ठूलो बहस सिर्जना गरेका छन्। पार्टीभित्र र बाहिर यी सबै बहसबीच अहिले एक महत्वपूर्ण विषय बनेको छ – नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको आवश्यकता।
बाहिरबाट हेर्दा यो बहस सत्ता संघर्षको दृष्टिले देखिए पनि परिवर्तन पक्षधरहरूको नजरमा यो समयानुकूल सुधारको एउटा अवसर हो।
पार्टीको उत्तरदायित्व, संविधानको संरक्षण, सांगठनिक सशक्तिकरण र पुनर्जागरणका लागि पनि विशेष महाधिवेशन अपरिहार्य देखिन्छ। यी विषयहरू अहिले अत्यन्त गम्भीर छन्, जसलाई केन्द्रीय समितिको साँघुरो घेराभित्र मात्र समेट्न सकिने अवस्था छैन। साथै, नियमित महाधिवेशन तयारीको अभावका कारण अहिलेको राजनीतिक परिस्थितिको समयमै सम्बोधन गर्न सक्ने स्थितिमा पनि छैन।
संगठनको आन्तरिक जीवन र भूराजनीतिक विशेष परिस्थितिमा आन्तरिक समीक्षा, नीतिगत पुनरावलोकन र सांगठनिक गतिशीलताका लागि नियमित प्रक्रियाबाट सम्भव नभएमा विशेष महाधिवेशन आह्वान गर्न वैधानिक व्यवस्था गरिएको छ। केन्द्रीय समितिको निर्णय वा ४०% महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार यस्तो विशेष अधिवेशन बोलाउन सकिन्छ।
नेपाली कांग्रेसको इतिहास हेर्ने हो भने २०१५ साल यता वर्तमान सभापतिले विद्रोह गर्दा एक–दुईपटक बाहेक यस्तो परिस्थिति देखा परेन। यस्ता घटना बारम्बार हुनु संगठनका लागि हितकर होइन। तथापि, दलभित्र संवाद, समीक्षा र बहसको अभाव तोड्न नेतृत्वलाई अझ परिस्कृत र उत्तरदायी बनाउन यो विशेष महाधिवेशनको बहसले सकारात्मक भूमिका खेल्न सक्छ।
नेपाली कांग्रेसको विधानअनुसार आगामी मङ्सिरमा १५औं नियमित महाधिवेशनको समय नजिकिँदैछ। तर वर्तमान सांगठनिक अवस्था हेर्ने हो भने तल्लो तहमा यसको तयारी भएको देखिँदैन। कतिपय जिल्लाले प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने क्रियाशील सदस्यता नवीकरणमा कुनै पहल गरेका छैनन्।
अधिकांश भातृ संगठन निष्क्रिय छन्, कार्यतालिका वा स्पष्ट कार्यदिशा निर्माण भएको छैन। आन्तरिक मतभेदका कारण यी सबै सांगठनिक गतिविधिमा जानी–नजानी अवरोध कायम छ। राजनीतिक व्यवस्थामाथिको ठूलो आघातका कारण छोटो समयमै यी सबै कार्य पूरा गर्नु असम्भव छ। त्यसैले, समयमै नियमित महाधिवेशन गर्ने कुरा अहिलेको अवस्थाबाट हेर्दा केवल औपचारिकता र राजनीतिलाई अझ अस्थिर बनाउने रणनीति मात्रै देखिन्छ। यसैले, यस्तो सांगठनिक सुन्यताका बेला विशेष महाधिवेशनको मागलाई ‘हतारो’ भनेर अस्वीकार गर्नु उचित होइन।
अहिले नेपाली कांग्रेसप्रति कार्यकर्ताहरूका दुईवटा प्रमुख अपेक्षा छन् —
१. जवाफदेही नेतृत्वको स्थापना
२. स्पष्ट दृष्टिकोणसहितको सांगठनिक सक्रियता
आजको राजनीतिक अन्यौलता र शून्यताको मूल कारण युवामाझ फैलिएको निराशा हो। वर्तमान नेतृत्व निर्णय प्रक्रियामा आत्मकेन्द्रित बनेको अनुभूति भइरहेको छ। सामाजिक प्रश्नहरू स्वीकार गर्न नसक्ने स्थितिबाट उत्पन्न असन्तोषले देशमा आक्रोश र अस्थिरता बढाएको छ।
ऐतिहासिक बलिदानबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरू जोगाउन पहिलो आवश्यकता हो — जवाफदेही र उत्तरदायी नेतृत्वको स्थापना।
त्यसपछि, ती उपलब्धिहरूलाई सुदृढ बनाउँदै सामाजिक चुनौती र शासकीय स्वरूपका विषयमा ठोस बहसको वातावरण तयार गर्नु दोस्रो आवश्यकता हो। यी दुवै अपेक्षालाई सम्बोधन गर्न राष्ट्रिय बहस, अद्यावधिक नेतृत्व र सांगठनिक पुनर्संरचनासहितको विशेष महाधिवेशन अपरिहार्य छ। हालको नियमित महाधिवेशन तयारीले त्यो उद्देश्य पूरा गर्न सक्दैन।
सभापतिमाथि भएको आघात र स्वास्थ्य समस्या वास्तवमै संवेदनशील विषय हो। यस्तो बेला हतार नगर्नु भन्ने तर्क सम्मानजनक छ। उहाँको स्वास्थ्य मात्र होइन, उहाँको राजनीतिक योगदान र बलिदानप्रति पनि सम्मान हुनु आवश्यक छ।
तर, यही संवेदनशीलतालाई बहस टार्ने बहानामा प्रयोग गर्नु पनि उचित होइन। यदि नेतृत्व कुनै कारणवश सक्रिय रहन सक्ने अवस्थामा छैन भने त्यसलाई अझ गम्भीरताका साथ सम्बोधन गर्नुपर्छ। सभापतिले आफ्नै समर्थक प्रतिनिधिहरूलाई सम्बोधन गर्दै दीर्घकालीन हितका लागि साहसी निर्णय गर्न उत्प्रेरित गर्नु, अभिभावकको रूपमा पार्टीलाई सहजीकरण गर्नु — यो अझ परिपक्व निर्णय हुनेछ।
राजनीति मानवताप्रति संवेदनशील हुनुपर्छ तर संगठन व्यक्ति–निर्भर हुनु हुँदैन।
विशेष महाधिवेशनको बहसलाई गुटगत हमलाको रूपमा व्याख्या गर्नु शक्ति–रूझान वा व्यक्तिगत समर्पण मात्रै हो। संस्थापन पक्षले आफ्नै प्रतिनिधिप्रति अविश्वास प्रकट गर्नु पनि गम्भीर कमजोरी हो र त्यसमा वरपरका व्यक्तिहरूले हावा दिनु नेतृत्वलाई अझ टाढा धकेल्ने प्रयास मात्र हो।
यसैले, विशेष महाधिवेशनको बहसलाई साझा मागको रूपमा अघि सार्दै सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूले संगठन पुनर्संरचना, जवाफदेही नेतृत्व र भावी राजनीतिक दिशाबोधका लागि पहल गर्नुपर्छ। यसले कार्यकर्ताहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउँदै लोकतान्त्रिक अभ्यासलाई अझ परिष्कृत बनाउनेछ र मुलुक, जनता तथा कार्यकर्ताका अपेक्षाहरू पूरा गर्न सहयोग पुर्याउनेछ।
अहिले नेपाली कांग्रेस संवेदनशीलता र परिपक्वताका साथ आफ्ना आन्तरिक संघर्षसँग जुध्ने ऐतिहासिक घडीमा छ। सभापतिको स्वास्थ्य र संघर्षप्रति सहानुभूति राख्दै पार्टीका दीर्घकालीन हित, राष्ट्रिय आवश्यकता र लोकतन्त्रप्रतिको उत्तरदायित्व निभाउनु हाम्रो कर्तव्य हो।
जब पार्टीले समयमा नियमित महाधिवेशन गर्न सक्दैन र अन्य विकल्पहरू आत्मघाती देखिन्छन्, त्यतिबेला विशेष महाधिवेशन बाध्यात्मक विकल्पको रूपमा आउने कुरा स्पष्ट छ। वर्तमान अवस्थामा नेपाली कांग्रेसले यसलाई लोकतान्त्रिक पुनर्जागरणको बाध्यात्मक अभ्यासको रूपमा ग्रहण गर्न आवश्यक छ। परिवर्तन पक्षधरका आवाजलाई संवाद र सुधारका साझेदारका रूपमा स्वीकार गर्न सकेमा नेपाली कांग्रेस अझ बलियो, परिस्कृत र जनमैत्री दलका रूपमा स्थापित हुनेछ र देशको स्थायी राजनीतिक मियो बनेर रहिरहनेछ।