धनगढी। धनगढीस्थित कैलाली अस्पतालमा फिजिसियन डा. अकाश राउतले आजदेखि सेवा सुरु गरेका छन्। डा. राउतले मधुमेह, थाइराइड, पेट, मुटु तथा छाती, कलेजो, हेपाटाइटिस, ब्लडप्रेसर र मोटोपनजस्ता स्वास्थ्य समस्या उपचार गर्नेछन्।
अस्पतालका अध्यक्ष जनकराज जोशीले डा. राउतलाई स्वागत गर्दै अस्पतालको सेवा दायरा अझै व्यापक बन्ने विश्वास व्यक्त गरे। डा. राउतका अनुसार, आगामी १५ दिनसम्म निशुल्क ओपीडी सेवा उपलब्ध हुनेछ, जसमा सामान्य स्वास्थ्य जाँच र परामर्श निःशुल्क प्रदान गरिनेछ।
कैलाली अस्पताल हाल धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा अवस्थित छ र १२ वर्षदेखि सेवा दिँदै आएको छ। अध्यक्ष जोशीका अनुसार, अस्पतालमा १५ जना बिशेषज्ञ चिकित्सक कार्यरत छन् र अत्याधुनिक उपकरण प्रयोग गरी सेवा दिइँदै आएको छ।
अस्पतालले सघन उपचार आइसियु, नवजात शिशु एनआईसियु, भेन्टिलेटर, रंगिन भिडियो एक्स–रे, इको कार्डियोग्राफि, भिडियो इन्डोस्कोपी, जनरल तथा दूरबिनबाट अप्रेसन, २४ सैं घण्टा अप्रेसन लगायतका सेवा उपलब्ध गराउँदै आएको छ।
अध्यक्ष जोशीले भने, “हरेक वर्ष सेवाको गुणस्तरमा सुधार गर्दै आएका छौं। डा. अकाश राउतजस्ता दक्ष फिजिसियनको आगमनले हाम्रो स्वास्थ्य सेवा अझ सुदृढ हुनेछ।”