
- जेनजी जसले आफ्नो देशको सङ्लो अनुहार हेर्न चाहन्थ्यो, उसले देशकै इतिहास जलाएर कुरुप बनाउने दुस्साहस किमार्थ गर्न सक्दैन। अदालत जलाएर जसलाई कुनै अभियोगको फाइल पोल्नु छैन, उसले अदालततिर आँखा नै लगाउँदैन।निराशाको बजारमा के गर्दै छ कार्की सरकार ?
- सांसद बन्न होइन, सुध्रिएका सांसद हेर्ने चाहना भएका जेनजीहरुले संसद भवनको आगो ताप्ने दुस्साहस गर्नै सक्दैन।
- हो देशमा फोहोर धेरै छ, असंगति उचाक्ली छ। एउटा राजनीतिज्ञले राजनीतिलाई जनसेवा होइन, पेवा बनाएको वर्षौँ भइसक्यो। एउटा कर्मचारी जनसेवक नभएर, धनसेवक भएको परिणाम आजको अवस्था हो। एउटा वकिलले कालो कोटभित्र कालै सोच बोकेको नतिजा आजको अवस्था हो। एउटा पत्रकारले पेशाको पवित्रता गुमाउनुको दुर्दशा आजको अवस्था हो।
O शिवराज योगी

नेपाली जनताले प्रजातान्त्रिक व्यवस्थामा सुधार नभएका तममौ पक्ष लोकतन्त्रमा सुल्झिने अपेक्षा राखे।
आफ्नो भाग्य आफै निर्धारण गर्ने संविधान ‘संविधानसभा’बाट आफै निर्माण गरे। शताब्दी लामो राजसँस्थालाई मिल्काएर ‘घर छेउमा सिंहदरबार’ बनाए।
२००७ सालदेखि नेपाली राजनीतिमा हरेक एक दशकमा कुनै न कुनै उथलपुथल अब रोकिने विश्वास घर छेउका सिंहदरबारमा अवतार लिएका ‘नवराजाहरु’ले चकनाचुर बनाए, जुन आक्राेस २०८२ को जेनजी आन्दोलनमा परिणत भयो।
नेपाली राजनीतिक बजारमा अथाह असंगती छन्। त्यसलाई टेको हाल्ने अझ कतिपय अवस्थामा राजनीतिज्ञलाई नै दुर्गन्धित बनाउने कर्मचारीतन्त्र छ।
अनेकतामा विभाजित भएर आ-आफ्नो रोटी सेक्ने वौद्धिक जमात छ। कर्मचारी मात्र होइन, शिक्षक, वकिल, पत्रकार, सुरक्षाका कतिपय व्यक्ति र समूह संलो छैनन्।
यही धमिलो उद्देश्य, सोच, शैली, अपवित्र आकांक्षाको परिणामतः गत भदौ २३ को जेनजी आन्दोलन हो भन्नेसम्ममा दुई मत छैन। शक्ति र सत्ताको फेर समातेर पालितपोसितको मत बाहेक।
विडम्बना जनेजी पुस्ताले अग्रजको सम्मान गर्दै मुलुकमा भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारीको वतावरण मागेका थिए। उनीहरुको शान्तिपूर्ण आवाजको स्वर तत्कालीन सत्तालाई यति भयंकर सुनियो कि-अत्तालिएको सत्ता निर्मम मात्र बनेन, हत्याराको रुपमा प्रस्तुत भयो। आततायी बनिदियाे।
पवित्र उद्देश्य, सपाट चाहना, सङ्लो लेपालको सपना बोकेको जेनजी पुस्ताका बीचमा अनेकथरी अपवित्र उद्देश्य बोकेका पात्रहरु प्रवेश गरे।
त्यो जेनजी जसले आफ्नो देशको सङ्लो अनुहार हेर्न चाहन्थ्यो, उसले देशकै इतिहास जलाएर कुरुप बनाउने दुस्साहस किमार्थ गर्न सक्दैन। अदालत जलाएर जसलाई कुनै अभियोगको फाइल पोल्नु छैन, उसले अदालततिर आँखा नै लगाउँदैन।
सांसद बन्न होइन, सुध्रिएका सांसद हेर्ने चाहना भएका जेनजीहरुले संसद भवनको आगो ताप्ने दुस्साहस गर्नै सक्दैन।
जसका अनयिमितता, भ्रष्टाचार, जग्गा दलाली होस वा मानव तस्करीमा कतै संलग्नता छैन, बरु आफै देशको निर्यातको वस्तु बनिरहेको पुस्ता हो, उसले कुनै अड्डा-अदालत जलाउने आवश्यकतै देख्दैन।
जेनजीको पवित्र मागमाथि गोलि वर्षाएर रगतमा डुबाउने आततायी दुस्कर्म तत्कालीन सरकारबाटै भयो। ‘एजेन्ट’को खोल ओढाएर आफू जोगिन खोज्ने सत्ताका निरोहरु देश रगतको आहाल र आगोको लप्कामा पर्दा पनि बाँसुरी नछोडेर ढिपीमै अडिरहे।
घुसपैठ ! घुसपैठ हो भने त्यत्रो राज्यसंयन्त्र हाँकेर बसेका सत्तासिनहरु कति नपुंसक र निकम्मा ? यो प्रश्नको जवाफ कसले दिने।
हिँजो देश जलाएर आफू ‘दुलोमा लुकेकाहरु’ले आज भित्तामा उक्लिएर उग्र, उत्तेजक, भडकाउवादी र मान्छे किमा बनाउने भाषण दिइरहेका छन्। यसखाले उग्रवादले देश बन्छ कि सकिन्छ ? वा आफूहरुले बिस्ट्याएर गएको फोहोरको थुप्रो साहोरिने भयो र त्योसँगै आफू पनि लटपटिएर डंगुरमा पुग्ने भएँ भन्ने त्रासको गर्जन हो त्यो?
हो देशमा फोहोर धेरै छ, असंगति उचाक्ली छ। एउटा राजनीतिज्ञले राजनीतिलाई जनसेवा होइन, पेवा बनाएको वर्षौँ भइसक्यो। एउटा कर्मचारी जनसेवक नभएर, धनसेवक भएको परिणाम आजको अवस्था हो। एउटा वकिलले कालो कोटभित्र कालै सोच बोकेको नतिजा आजको अवस्था हो। एउटा पत्रकारले पेशाको पवित्रता गुमाउनुको दुर्दशा आजको अवस्था हो।
हो देशमा फोहोर धेरै छ, असंगति उचाक्ली छ। एउटा राजनीतिज्ञले राजनीतिलाई जनसेवा होइन, पेवा बनाएको वर्षौँ भइसक्यो। एउटा कर्मचारी जनसेवक नभएर, धनसेवक भएको परिणाम आजको अवस्था हो।
एउटा वकिलले कालो कोटभित्र कालै सोच बोकेको नतिजा आजको अवस्था हो। एउटा पत्रकारले पेशाको पवित्रता गुमाउनुको दुर्दशा आजको अवस्था हो। एउटा व्यवसायीको मिसावट वा लुटको साम्राज्य फैलाएको जवाफ आजको दुर्दिन हो।
मौका पाए किसानले पनि विष बेचिदिने समयको परिणाम आज हामीले भोग्नुपरेको सत्य हो। न शब्द, न संगती तर पनि गीतको नाममा चलेको बजारको परिणाम आजको अवस्था हो।
हो त्यसैले जतात्यतै फोहोर छ, दुर्गन्ध छ। सोहोर्नुपर्ने धेरै छ।
जसको सुरुवात विसम र विशेष परिस्थितिमा बनेको सुशीला कार्की नेतृत्वको सरकारबाट हुने अपेक्षा धेरैमा थियो र छ।
तर कार्की सरकारलाई अनेकन ‘आक्षेपका छिटाहरु’ लगाउने प्रयत्न तिरस्कृत शक्तिसमूहबाट भइरहेको छ।
कार्की सरकार के हो ? कुन तत्वको निकट हो वा होइन ? समयले सत्य ओकल्ने नै छ। यो फरक बहसको विषय होला। समयले निर्क्याैल गर्ला। किनकि देशका बढेभन्दा बढे दलका चले नचलेका नेतागणमाथि पनि एम्बेसीहरुको खर्चमा निर्वाचन लड्ने गरेका मिथकहरु नसुनिने होइनन्।
त्यसैले यो विषय समयले सपाट बनाउने जिम्मा समयलाई नै दिउँ । तर फोहोरमाथि डोजर चलाउने म्यान्डेड जेनजी पुस्ताले दिएको कुरा भने सत्य हो। त्यसमा चुक्ने र झुक्ने छुट भने कार्की सरकारलाई किमार्थ छैन।
अहिले कार्की सरकारलाई कुनै अमुक शक्तिको गोटीको आरोपपछि केही नर्ग नसकेको बिम्ब निर्माणमा एउटा कुत्सित तत्व लागिपरेको छ। तर पूर्ण सत्य त्यो होइन।
आज मात्रै उच्चपदस्थ, पूर्वप्रधानमन्त्री, मन्त्री, पार्टीका केन्द्रीय सदस्यदेखि सन्यासीसम्मका चाकरीमा खटाइएका ५०६ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएर यो सरकारले शक्तिको दुरुपयोग मात्र होइन, एउटा देशको सुरक्षार्थ भर्ना भएको सिपाहीको मनोबल उच्च बनाउने काम गरेको छ। जुन आर्थिक परिमाणमा देखाउन सकिने कुरो होइन।
यो लेखिरहँदा कार्की सरकारको पक्षपोशण गर्न खोजिएको होइन। मात्र जेनजीको अपेक्षा, चाहना, माग र अनुनयमा न्याय वा अन्याय के हुँदैछ? भन्ने विषयको उठान मात्रै गर्न खोलिएको हो।
यो सरकारसँग पनि जादुको छडी छैन। जुन छडीले सारा व्यथिति र असंगति ‘छुमन्तर’ हुनसकुन्। सिमसिम दरबाजा छैन, जहाँबाट सुसम्पन्नताको नयाँ संसार स्थापित हुन सकोस।
यो सरकारसँग नयाँ पुस्ताका केही अपेक्षा छन्, केही आसा छन् अनि भराेसा जाेडिएका छन्। बस त्यसलाई टुट्न दिने छुट छैन।
अघिल्लो राज्यसत्ताले बन्द गरेका फाइल खोलिँदैछन्। भाइ, भान्जा, भतिजा, साला, शाली, प्रेमी, प्रेमिकालाई चुनेर दिइने पद र शक्ति अब प्रतिस्पर्धाबाट गर्ने प्रथाको विकास हुँदैछ।
नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धा गराइँदैछ। पहुँचका भरमा भर्ती गरिएका करारका कर्मचारी हटाइँदैछन्। एउटा व्यथितिकाे कथाकाे अन्य गर्ने प्रयास हुँदैछ।
राज्यलाई भारमा पारेर थन्क्याइएका निगमका ट्विनअटर बिमान मर्मत भएका छन्। सेवामा फर्किएका छन्।
सुरक्षाकर्मीलाई नेता, ठालु र पहुँचवालाको घरमा दाससरह काम गराउने प्रवृत्ति अन्त्य हुँदैछ।
सम्भवतः लामो समयपछि नेपाल प्रहरीको प्रहरी महानिरीक्षक निर्विवाद रुपमा नियुक्त गरेर याे सरकारले कमजाेर बनेकाे प्रहरीको मनाेबल उठाउने काम गरेकाे छ।
त्रिभुवन विश्वविद्यालयको अतिक्रमणमा परेको जगाबारे छानबिन सुरु भएको छ। अपराधमा संलग्नहरुको नीद हराम भएको छ।
बर्षौँदेखि बाउको वृत्ता झैँ नेपाल स्काउटको लैनचौरस्थित जग्गामा रजगज गर्ने पूर्वमन्त्रीको दादागिरीमाथि डाेजर चलाइएको छ।
जनता अँध्यारोमा बसेर लोडसेडिङका बेला निर्बाध उपभोग गरेको बिजुलीको बक्यौता बिल तिर्न अटेरी गर्ने उद्योगीहरु लाइन लागेर बिल तिर्न आएका छन्।
जनतालाई सेवामा तदारुक्ता दिने प्रयास भएको छ। मतदाता नामावली दर्ताका लागि निर्वाचन आयोगमा लाइन बस्न पुग्नुपर्ने अवस्थाकाे अन्त्य भएको छ।
सयौँ जनप्रतिनिधि, उच्च पदस्थले सहयोगी, स्वकीय र प्रेस सल्लाहकारका नाममा गरेको राज्यस्रोत दोहनमा अंकुस लगाइएको छ।
पूर्वाधार निर्माणको ठेक्का ओगटेर पेस्कीमा रजगज गर्ने तर काम नगर्ने सयौँ योजनाको सम्झौता रद्द मात्र गरिएको छैन, यस्ता कुनियत भएका ठेकेदार र निर्माण कम्पनीहरु कालोसूचीमा परिरहेका छन्।
सत्ताको मियो समातेर बिचौलियाहरुको इसारामा नीतिगत चलखेल गरी घटाएका यती काण्ड र अन्य पनि छानबिन हुने चरणमा पुगेका छन्। जसले राज्यदोहन गर्नेहरुको मगजलाई थप खलबल्याइरहेको छ।
आफ्नै नागरिकलाई अनागरिक र शरणार्थी बनाएर मानव तस्करी गर्ने भुटानी शरणार्थी काण्डको फाइल फेरि खोलिएको छ। केही थप पक्राउ परेका छन्। केहीको पक्राउको दिन नजिकिएको छ।
राजश्व बुझाएर वर्षौँ नपाइने सवारी चालक अनुमतिपत्र सरकारी सँस्था सुरक्षण मुद्रण केन्द्रबाट छापिन सुरु भएको छ। सार्वजनिक स्थलमा फ्रि वाईफाइ सेवा मात्र होइन, अनलाईन पत्रिका दर्तामा लगाइएको गोलचक्करलाई सहज र सरल बनाउने प्रयास सरकारबाट भएको छ। टेलिकमलाई निजी कम्पनीको अघि निरिह भएर होइन अब्बल भएर काम गर्ने चुनाैति दिइएको छ।
दलका शक्तिशाली नेताले भोलिको निर्वाचनामा प्रभाव पार्नेगरि आफ्नै निर्वाचन क्षेत्रमा खन्याएका करोडौँका योजनामा ब्रेक लगाइएको छ। त्यो मात्र होइन विनाकामको विदेश सयरमा जहानपरिवार मात्र होइन, नातागोता र छरछिमेकै बोकेर जाने प्रचलनमा कार्की सरकारले अकुश लगाइदिएको छ। जसले राज्यलाई ठूलाे आर्थिक भारबाट जाेगएको छ।
जेनजी आन्दाेलनमा जलेका संरचनाकाे क्षति त करिब राजनीतिक दलका आसेपासे, सहयाेगी, स्वकीय र भ्रमणका नाममा हुने खर्च तथा इन्धन, गाडीमा हुने खर्चबाटै जाेगउने प्रयास कार्की सरकारबाट भएको छ।
तर याे मात्र प्रयाप्त होइन, कार्की याे देशकाे निर्विवाद र निष्ठावान न्यायमुर्ति पनि हुन्। त्यसैले आर्थिक मात्र हाेइन, समाज भडकाउने प्रवृतिलाई पनि निरुत्साहित गर्नुपर्छ। बोलीको ब्यथितिमा पनि अंकुश लगाउनु पर्छ।
समाज र देश हुलहुज्जतले हाेइन न्यायव्यवस्थाले चल्छ भन्ने मान्यता स्थापितमा पनि उत्तिकै खराे उत्रनु जरुरी छ।
जय होस !



