

शाह लामो राजनीतिक पारिवारिक पृष्ठभूमि भएका नेता हुन्। मृदुभाषी, शालिन, सभ्य र मिजासिलो स्वभावका उनी युवामाझ पनि उत्तिकै चर्चित र लोकप्रिय नेताका रुपमा चिनिन्छन्।
कैलाली। कुनै समय कैलाली क्षेत्र नम्बर ५ निकै चर्चामा रहने निर्वाचन क्षेत्र हो। दोस्रो विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व परिवर्तन नभएसम्म पनि यस क्षेत्रमा कांग्रेसले कसलाई टिकट दिन्छ भन्ने विषय चासोकासाथ हेरिएको थियो।
यस क्षेत्रमा काँग्रेसका कैयौँ नेता हुँदाहुँदै २०७४ को निर्वाचनमा नेपाली काँग्रेस नेतृ तथा तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले टिकट पाएकी थिइन्।
तर कांग्रेसभित्रको आपसी मनमुटावले आरजु राणा त्यसबेला बाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका उम्मेदवार नारदमुनि रानासँग करिब ५ हजार मतले पराजित भइन्।
२०७९ को निर्वाचनमा पनि राणाको नाम चर्चामा आए पनि पछि माओवादीसँग गठबन्धन गरेको कांग्रेसले डिल्लीराज पन्तलाई टिकट दियो। उनी एमालेका नारदमुनि रानालाई करिब हजार मतान्तरले हराउँदै विजयी भए।
आसन्न फागुन २१ को निर्वाचनका लागि पनि कांग्रेसले पार्टीको निर्देशिका विपरित राणालगाएत आधा दर्जनभन्दा बढी उम्मेदवारको नाम सिफारिस गरेको थियो। तर एकाएक पार्टी नेतृत्व नै परिवर्तन भएपछि भने नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका महामन्त्री नर नारायण शाह ‘मनु’ले टिकट पाए।
यतिबेला उनका निकटतम प्रतिस्पर्धीका रुपमा एमालेका जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना छन्। नेपाली कम्युनिस्ट पार्टीले प्रेम आलेलाई निर्वाचनमा उठाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलाली क्षेत्र नम्बर ५ बाट आनन्दबहादुर चन्दलाई उम्मेदवार बनाएको छ।

को हुन त नर नारायण शाह ‘मनु’
शाह लामो राजनीतिक पारिवारिक पृष्ठभूमि भएका नेता हुन्। मृदुभाषी, शालिन, सभ्य र मिजासिलो स्वभावका उनी युवामाझ पनि उत्तिकै चर्चित र लोकप्रिय नेताका रुपमा चिनिन्छन्।
२०२४ साल फागुन ९ गते बुवा मोहनबहादुर शाह र आमा नर्मदादेवी शाहका सन्ताका रुपमा उनी धनगढी उपमहानगरपालिका २ सन्तोषी टोलमा जम्मिएका हुन्। उनले स्थानीय समाज, सँस्कार राम्राेसँग बुझेको नेताका रुपमा हेर्ने गरिन्छ।
माध्यमिक तहसम्मको शिक्षादिक्षा भने उनको भारतको लखनऊस्थित काल्विन तालुकेदार्स कलेजमा भएको हो। पछि आईएसम्मको पढाइ उनले कैलाली बहुमुखी क्याम्पस धनगढी र पिपुल्स क्याम्पस काठमाडौंबाट गरे। स्नातक तह भने फेरी उनले भारतको लखनऊ विश्वविद्यालयबाट गरेका हुन्।
कोमल हृदयका नेता भनेर चिनिने उनी गीत संगीतमा पनि उत्तिकै रुची राख्छन्। स्थानीय रेडियोमा उनी राजनीतिसँगै कार्यक्रम प्रस्तोताका रुपमा लामो समय काम गरेका व्यक्ति हुन्। इशु शाहसँग वैवाहिक सम्बन्ध जोडेका उनी एक छोरीका पिता हुन्।
राजनीति, खेलकुद, शिक्षा, समाजसेवा र गीतसंगीतमा उत्तिकै रुची राख्ने व्यक्तिका रुपमा उनी चिनिन्छन्। रुची मात्र होइन उनले राजनीतिसँगै यी विधाहरुमा उनले आफ्नो अब्बलता समेत देखाएका छन्।
शाह क्रिकेट खेलको पूर्व राष्ट्रिय खेलाडी, टेबुल टेनिस खेलको पूर्व राष्ट्रिय खेलाडी हुँदै नेपाल सितिरियो कराँते महासंघ कैलालीको पूर्व अध्यक्ष, जिल्ला खेलकुद विकास समितिको पूर्व सदस्य समेत भइसकेको व्यक्ति हुन्।
बहुमुखी प्रतिभा भएका शाह धनगढी जेसिजको पूर्व अध्यक्ष र जेसिज एभरेस्ट इंग्लिस स्कुल व्यवस्थापन समितिको पूर्व अध्यक्षको जिम्मेवारीमा रहीसकेका छन्।
विद्यार्थी राजनीतिबाट राजनीतिक जीवन सुरु गरेका शाह नेपाल तरुण दलको पूर्व जिल्ला अध्यक्ष हुँदै नेपाली काँग्रेसको पूर्व जिल्ला सहसचिव एवं जिल्ला सभापतिको जिम्मेवारी निर्वाह गरिसकेका छन्। हाल उनी नेपाली काँग्रेस, सुदूरपश्चिम प्रदेश कार्य समितिको महामन्त्री हुन्।
नेपाल विद्यार्थी संघ जनसम्पर्क समिति, लखनउ, भारतका संस्थापक सदस्य शाहले गैरसरकारी संस्था रुडुकको कैलाली जिल्ला अध्यक्षका रुपमा समेत काम गरेको अनुभव छ।

नेपाली काँग्रेस तथा धनगढी जेसिजको जिल्लास्तरीय प्रशिक्षक २०६३ सालमा कैलाली महोत्सव तथा टीकापुर महोत्सवको संस्थापक मुख्य व्यवस्थापक रहेका उनी धनगढीमा आयोजित नेपाल तथा भारत मैत्रीपूर्ण महिला फुटबल खेलको संस्थापक प्रमुख व्यवस्थापक रहेका थिए।
कला-संगीतलाई औधि माया गर्ने शाह सुदूरपश्चिम साँस्कृतिक सम्वर्धन समितिको पूर्व सदस्य हुन। नेपाल भारत मैत्री संघ, नेपाल रेडक्रस सोसाइटी, कैलाली उद्योग वाणिज्य संघ, एमनेष्टी इन्टरनेशनल, कैलाली जनपुस्तकालय, नवजीवन सहकारी संस्था लिमिटेड, युथ स्पोर्ट्स क्लब धनगढीलगायतमा आवद्ध उनी निकै सक्रिय युवा राजनीतिज्ञका रुपमा यस क्षेत्रमा परिचित छन्।
निकै सरल र शान्त स्वभावका शाह राजनीति मात्र होइन, समाजसेवा, संगीत-कला, उद्योग-व्यापार, शिक्षा-खेलकुद क्षेत्रमा पनि उत्तिकै सक्रिय हुने भएकाले सबै क्षेत्रका लागि उत्तिकै परिचित मानिन्छन्।
पार्टीको नेतृत्व परिवर्तन हुनुपूर्व आधा दर्जन आकांक्षी रहेको कैलाली ५ मा नेतृत्व परिवर्तनपछि भने उनले टिकट पाएका हुन्।
‘पार्टीप्रतिको मेरो निष्ठा, सक्रियताको मुल्यांकन भएरै म उम्मेदवार बनेको हुँ,’ उम्मेदवार शाहले अक्षरपाटीसँग भने, ‘यस क्षेत्रका लागि मैले किशोरावस्थादेखि विभिन्न विधामा गरेको योगदानको कदर पक्कै हुनेछ भन्ने विश्वास लिएको छु।’
कैलाली क्षेत्र नं ५ नर नारायण शाह 'मनु'



