Logo
१८ वैशाख २०८३, शुक्रबार

प्रधानमन्त्री कार्की महाशिवरात्रि तथा सेना दिवसमा सरिक (फोटो फिचर)

अक्षरपाटी
२०८२ फागुन ३ , आईतबार ०९:०२ मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की आज नेपाली सेनाद्वारा आयोजित महाशिवरात्रि तथा सेना दिवस-२०८२ समारोहमा सहभागी भएकी छन्।

काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहेका थिए। आजै महाशिवरात्रिका अवसरमा प्रधानमन्त्री कार्कीले आराध्यदेव पशुपतिनाथ पुगेर पूजाआराधना गरेकी थिइन्।

सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा महाशिवरात्रि बढाइँ तथा मार्च पास, नेपाली सेनाका हातहतियार तथा उपकरणहरुको प्रदर्शन, विविध सैनिक कला तथा सांगीतिक झाँकीहरु प्रदर्शन गरिएको थियो।

त्यस्तै मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका सेनाका ब्यान्डहरुका प्रस्तुति पनि कार्यक्रममा प्रस्तुत गरिएका थिए।

नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका अवसरमा आफ्नो स्थापना दिवस मनाउँदै आएको छ।

राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट नेपाल एकीकरणको सिलसिलामा विसं १८१९ मा नेपाली सेनाको गठन भएको थियो।

त्यस वर्ष नेपाली सेनाका श्रीनाथ, कालीबक्स, बर्दवानी, सबुज र गोरख कम्पनी खडा गरिएका थिए। नेपाल राज्यका पुराना संस्थाहरुमध्ये नेपाली सेना पनि एक हो।

तस्बिर : केशव थापा/प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री सुशीला कार्की सेना दिवस