Logo
१४ असार २०८३, आईतबार

चुनावी तयारीमा अपेक्षित ध्यान दिन नसक्दा कांग्रेस खुम्चियो : सह–महामन्त्री राणा

अक्षरपाटी
२०८२ फागुन २२ , शुक्रबार ०५:०३ मा प्रकाशित

ललितपुर। नेपाली कांग्रेसका सह–महामन्त्री एवम ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार उदय शमशेर राणाले यस पटकको परिणाम सोचेभन्दा फरक आएको प्रतिक्रिया दिएका छन्।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै राणाले निर्वाचन परिणाम अपेक्षाभन्दा प्रतिस्पर्धात्मक भएको पनि बताए। ‘सोचेको भन्दा बढी टाइट छ निर्वाचनको नतिजा। तर म मेरो क्षेत्रबाट विजयी हुन्छु भन्नेमा विश्वास छ,’ उनले भने।

राणाले ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको संगठन बलियो रहेको र स्थानीय तहमा पनि पार्टीले उल्लेख्य सफलता हासिल गरेको बताए। ‘हामीले धेरै स्थानीय तह जितेका छौं। जनप्रतिनिधिले पनि यस क्षेत्रमा काम गरेका छन्। मैंले पनि यहाँका नागरिकको दुःखसुखमा सधैं साथ दिएको छु र मेरो छविमा कुनै दाग लाग्न दिएको छैन,’ उनले भने।

साथै उनले केन्द्रिय राजनीतिको प्रभावले निर्वाचनको परिणाम प्रभावित हुने अवस्था सिर्जना भएको पनि उल्लेख गरे। ‘विशेष महाधिवेशन नगरेको भए हाम्रो परिस्थिति झन खुम्चिन्थ्यो। निर्वाचनको मुखमा विशेष महाधिवेशन गर्न बाध्य भयौं,’ उनले भने।

उनले पार्टीभित्रको आन्तरिक विवादका कारण चुनावी तयारीमा अपेक्षित ध्यान दिन नसकिएकाले यो अवस्था सिर्जना भएको बताए।

‘हामी चुनावभन्दा पनि आन्तरिक विवादमा अल्झियौं। मंसिरमै विशेष महाधिवेशन टुंग्याएको भए ‘परिवर्तित कांग्रेस’ अथवा ‘नवीन कांग्रेस’को सन्देश जनतामा राम्रोसँग लैजान सकिन्थ्यो,’ राणाले भने। पछिल्लो परिणाम अनुसार राणाले आफ्नो क्षेत्रमा अग्रता लिएका छन्।

निर्वाचन