Logo
१६ वैशाख २०८३, बुधबार

बजारमा एलपी ग्यास अभाव, इन्डक्सन र इन्फारेटमा चाप

अक्षरपाटी
२०८२ चैत्र ६ , शुक्रबार ०९:०३ मा प्रकाशित

काठमाडौं। काठमाडाैंकाे बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै जाँदा सर्वसाधारणका लागि आफ्नै भान्सा संकट बन्दै गएको छ।

तर जिम्मेवार निकाय भने समस्या स्वीकार्नुको सट्टा दोष पन्छ्याउनमै तल्लिन देखिने गरेको छ।

नेपाल आयल निगमले ग्यास अभावलाई ‘कृतिम’ भन्दै उपभोक्ताले अत्यधिक जोहो गर्दा समस्या देखिएको दाबी गर्दै मात्र आएको छैन, अभाव स्वीकार्दै त्रिपुरेश्वरस्थित आफ्नै कार्यालयबाट ग्यास वितरण समेत थालेको छ।

निगमले आवश्यकताभन्दा बढी स्टक नगर्न आग्रह गरे पनि बजार व्यवस्थापनमा देखिएको कमजोरीप्रति भने सराेकारवाला निकाय मौन देखिएका छन्।

यहीबेले एकैपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा उपभाेक्ताले थप समस्या झेल्नु परेको छ। पेट्रोलमा एकैपटक १५ रुपैयाँ र डिजेलमा समेत भएको मूल्यवृद्धिले बजारमा चर्को प्रभाव पारेको छ।

ढुवानी खर्च बढेसँगै यातायात भाडा महँगिन थालेकाे छ भने दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर उकालो लागिरहेको छ। ढुवानीलाई कारण देखाउँदै तरकारीदेखि अन्य दैनिक उपभाेग्य वस्तुकाे मूल्य आकासिन थालेकाे छ।

ग्यास नपाएपछि उपभोक्ता विद्युतीय चुलोलाई विकल्प बनाउन खोजिरहे पनि त्यसको समेत बजारमा अभाव सिर्जना गरिएको छ। इन्डक्सन र इन्फारेट चुलोको माग ह्वात्तै बढेपछि बजारमा ती सामग्रीसमेत अभाव हुन थालेको बिक्रेताहरुको दाबी छ।

बाल्ट्रा कम्पनीका प्रतिनिधिका अनुसार इन्फारेट चुलोको मौज्दात सीमित भएकाले आगामी दशैँसम्म मात्र आपूर्ति सम्भव हुने छ।

यता, बजार अनुगमन फितलो हुनु र नयाँ सरकार गठनको तरल अवस्थाले समस्या झनै जटिल बनेको छ। नियामन निकाय निष्क्रियजस्तै देखिँदा व्यापारीको मनपरी र उपभोक्ता मारमा पर्नुपरेको जानकारहरु बताउँछन्।

ग्यासको मात्र हाेइन विकल्पको समेत अभाव अनि मूल्यवृद्धिले थिचिँदै गएको बजार र कमजोर सरकारी उपस्थितिले आम नागरिक सरकार विहीनताको अनुभूति भइरहेको गुनासाे गर्न थालेका छन्।

फोटो: सामाजिक सञ्जाल

इन्डक्सन एलपी ग्यास नेपाल आयल निगम