Logo
४ वैशाख २०८३, शुक्रबार

सिगास युवा क्लबद्वारा सरसफाई अभियान सञ्चालन

अक्षरपाटी
२०८२ चैत्र ८ , आईतबार ०७:०३ मा प्रकाशित

धनगढी – सिगास युवा क्लबको आयोजनामा चैत गते (आज) गाजरी क्षेत्रमा एक भव्य सरसफाई अभियान सफलतापूर्वक सम्पन्न भएको छ। 

“सफा वातावरण, स्वस्थ जीवन” भन्ने मूल नारासहित सञ्चालन गरिएको उक्त अभियानले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

अभियानमा सिगास युवा क्लबका पदाधिकारीहरूको सक्रियतासँगै बजार व्यवस्थापन समूह गाजरी, नेपाल प्रहरीका सुरक्षाकर्मी, सिगास शिक्षा क्याम्पसका आदरणीय प्राध्यापक तथा विद्यार्थीहरू, क्याम्पस व्यवस्थापन समूह, अर्जुन माध्यमिक विद्यालय गाजरीका विद्यार्थीहरू, स्थानीयवासी, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको सिगास युवा क्लबका सचिव गणेश धामीले जानकारी दिए।

कार्यक्रम अन्तर्गत गाजरी बजार क्षेत्र तथा आसपासका सार्वजनिक स्थलहरूमा फोहोर संकलन, व्यवस्थापन तथा सरसफाई गरिएको थियो। सहभागीहरूले वातावरणीय स्वच्छता कायम राख्नु प्रत्येक नागरिकको दायित्व भएको उल्लेख गर्दै यस्ता अभियानले जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका छन्।

क्लबका सचिव धामीका अनुसार ‘अभियानले समुदायमा एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना अझ बलियो बनाएको छ। उनले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक तथा समाजसेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिएका छन्।

सरसफाइ