Logo
८ वैशाख २०८३, मंगलबार

पूर्व प्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ, सुधनले भने : आयो गाेरखाली, एमाले विरोधमा, मिश्रित टिप्पणी

अक्षरपाटी
२०८२ चैत्र १४ , शनिबार ०८:०३ मा प्रकाशित

काठमाडाैं। पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।

लेखकलाई भक्तपुरको कटुन्जेस्थित घरमा सुतिरहेका बेला र ओलीलाई ओली निवास गुण्डुबाट बिहन उठ्ने वित्तिकै पक्राउ गरिएको हो।

उनीहरु दुबै जनालाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ।

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले शुक्रबार शपथ लिएलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मीहरु बाहेकका हकमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचक्क्राईं गरी ज्यान मारेको’ अभियोग लगाएर पक्राउ गरेको हो।

तीन दिन अघि सार्वजनिक भएको जेनजी आन्दोनल जाँचबुझ आयोगको प्रतिवेदनले उनीहरूले लापरवाही गरेको ठहर गरेको थियो।

प्रतिवेदनमा पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता आपकर्षित हुने उल्लेख गरेको थियो।

हेलचेक्राईपूर्वक कसैको ज्यान मार्ने काम गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ।

प्रतिशाेधले भलो गर्दैन

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखककाे पक्राउलाई लिएर संविधानविद् निलाम्बर आचार्यले असन्तुष्टि जनाएका छन्। उनले प्रतिशोध र धरपकडले भलो नगर्ने बताएका छन्।

आचार्यले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘साह्रै नै नमिल्ने कुरा भइरहेको छ, प्रतिशोध र धरपकडले भलो गर्दैन।’

आयो गोरखाली

गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा ‘आयो गोर्खाली’ लेखेका छन्।

पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान पक्राउ गरेपछि उनले सामाजिक सञ्जालमा त्यस्तो लेखेका हुन्।

अर्को स्ट्याटसमा उनले कानुनभन्दा माथि कोही नहुने र पूर्व प्रधानमन्त्री ओली र निवर्तमान गृहमन्त्री लेखककाे पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो भनेका छन्।

उनले लेखेका छन्, ‘मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’

एमाले विराेधमा

अध्यक्ष ओलीकाे पक्राउलाई लिएर नेकपा एमालेले विराेध जनाएको छ। एमाले सचिव महेश बस्नेतले अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएको बताएका छन्।

उनले कुनै कानुनी आधार नभएर प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएको बताएका छन्। उनले भनेका छन्, ‘हामी यसको कानुनी लगायतका लडाई लड्छौँ। एमालेले यसका लागि पार्टीकाे आकस्मिक बैठक बोलाएकाे छ।

बालेन सरकार प्रतिशाेधमा लाग्यो- थापा

राप्रपाका नेता कमल थापाले बालेन सरकार निशेष, प्रतिशाेध र पूर्वाग्रहकाे बाटाेमा लागेकाे टिप्पणी गरेका छन्। उनले द्वन्द्व र मुठभेडले कसैकाे भलाे नगर्ने भएकाले सुशासन र समृद्धिका लागि कानूनी राज्यको पालना गर्न आग्रह गरेका छन्।

केपी ओली पक्राउ रमेश लेखक