



काठमाडौं – ज्यान सम्बन्धी कसुरमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
आइतबार न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
‘प्रस्तुत मुद्दामा प्रतिवादीहरूको बयान गर्न, बुझ्नुपर्ने मानिसहरूको घटना विवरण कागज गर्न तथा भदौ २३ /२४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन अध्ययन विश्लेषण गर्ने लगायतको प्रयोजनका लागि प्रतिवादीहरूलाई प्रहरी हिरासतमा राख्न अनुमति माग गरेको र अनुमति माग गरेको व्यहोरा मनासिब देखिँदा प्रतिवादीहरू केपी शर्मा ओली र रमेश लेखकलाई प्रहरी हिरासतमा राखी उपरोक्त लेखिए बमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि ५ दिन म्याद थपको अनुमति प्रदान गरिदिएको छ,’ आदेशमा भनिएको छ।
त्यस्तै, ओली अस्पतालमा रहेकाले आवश्यक उपचारको व्यवस्था गर्न समेत यो आदेश गरी दिएको छ।
भदौ २३ र २४ गते भएको घटनाको अनुसन्धानका लागि बनेको जाँचबुझ आयोगले दुबै जनामाथि मुलुकी अपराध संहिता २०७४को दफा १८१ र १८२ अनुसार अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो।
प्रधानमन्त्री बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषदको बैठकले उक्त सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको भोलिपल्ट बिहानै ओली र लेखक पक्राउ परेका थिए।
शनिबार बिहान भक्तपुरस्थित निवासबाट प्रहरीले ओली र लेखकलाई नियन्त्रणमा लिएको थियो।
पूर्वप्रधानमन्त्री ओली भने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्। उनी मृगौला प्रत्यारोपणका बिरामी हुन्। परीक्षणका क्रममा मुटुको चालमा गढबढी पाइएपछि भर्ना गरिएको छ।
आइतबार म्याद थपका लागि प्रहरीले ओलीलाई त्रिवि शिक्षण अस्पतालबाटै भर्चुअल माध्यमबाट उपस्थित गराएको थियो। लेखक भने अदालतमै उपस्थित भएका थिए। प्रहरीले दुबै जनालाई पक्राउ गरेपछि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट समेत दायर भएको छ।
ओलीकी श्रीमती राधिका शाक्य र लेखककी श्रीमती यशोदा लेखकले रिट दिएकी हुन्। रिटमाथि सुनुवाइका लागि सोमबार पेसी तोकिएको छ।
केपी ओली रमेश लेखक



