Logo
१७ जेठ २०८३, आईतबार

गृहमन्त्री गुरुङ र चीनका राजदूतबीच भेटवार्ता : सीमा सुरक्षाबारे छलफल

अक्षरपाटी
२०८२ चैत्र ३० , सोमबार १०:०४ मा प्रकाशित

काठमाडाैं। गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाड माओमिङबीच गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

आज भएको भेटवार्तामा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। जवाफमा गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपालको भूमिमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्‍याए।

उनले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकार सधैं सचेत रहेको पनि बताए।

भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा भिसा नवीकरण नगरी अवैध रूपमा बसेका चिनियाँ नागरिकलाई स्वदेश फिर्ता गर्ने प्रक्रियालाई प्रभावकारी बनाउन आवश्यक समन्वय र सहजीकरणका लागि अनुरोध गरेका थिए।

यसैगरी, चीनको सहयोगमा सञ्चालित आयोजना समयमै सम्पन्न गर्न, नेपाल–चीन रेलमार्ग निर्माण अघि बढाउन तथा द्विपक्षीय व्यापार सहजीकरणमा थप पहल गर्न पनि गृहमन्त्रीले आग्रह गरे।

दुवै पक्षबीच नेपाल–चीन सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य बढाउने विषयमा समेत छलफल भएको थियो। उक्त विषयमा चिनियाँ पक्षले सकारात्मक धारणा राख्दै नेपालको सुरक्षा निकायको क्षमता अभिवृद्धिमा सहयोग गर्न तत्पर रहेको जनाएको छ।

पछिल्लो समय सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाकाबाट हुने आवतजावतमा समस्या आएको भन्ने समाचारप्रति चिन्ता व्यक्त गरिएको थियो। यसबारे राजदूत माओमिङले सीमाक्षेत्रमा कुनै अवरोध नरहेको स्पष्ट पार्दै त्यस्ता समाचार भ्रामक रहेको बताएका छन्।

भेटवार्तामा दुवै देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्दै भविष्यमा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने सहमति व्यक्त गरिएको गृहमन्त्रालयले जनाएको छ।

सुधन गुरुङ