



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाँई बस्ने नरेन्द्र बम र डम्मरादेवी बमले आफ्नो विवाहको दोस्रो वर्षगाँठ परोपकारी कार्य गरी मनाएका छन्।
सोमबार दृष्टि फाउन्डेसन, धनगढीको कार्यालयमै पुगेर बम दम्पतीले त्यहाँ आश्रित असहाय व्यक्तिहरूसँग केक काट्दै खुसी साटासाट गरेका हुन्।
सो अवसरमा उनीहरूले फाउन्डेसनलाई नगद ५ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग समेत प्रदान गरेका छन्। ‘सहयोगी मनहरू’ नामक सामाजिक संस्थाका संस्थापक अध्यक्ष समेत रहेका नरेन्द्र बमले आफ्नो विशेष दिनलाई तडकभडक भन्दा पनि मानवीय सेवामा जोडेर मनाउने उद्देश्यले आश्रममा पुगेको बताए।
सहयोग हस्तान्तरण कार्यक्रममा सहयोगी मनहरू संस्थाका वर्तमान अध्यक्ष रवि विश्वकर्मा (रवि भल्ग) लगायत संस्थाका सदस्य र फाउन्डेसनमा आश्रित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
पछिल्लो समय धनगढीमा आफ्नो जन्मदिन र विवाह उत्सव जस्ता अवसरमा सामाजिक संस्थाहरूलाई सहयोग गर्ने क्रम बढ्दै गएको छ, जसलाई बम दम्पतीको यो कार्यले थप निरन्तरता दिएको छ।





