



नेपालगञ्ज । स्थानीय परिकार प्रहिचान र प्रबर्द्धन गर्ने उदेश्यले नेपालगन्जमा ‘नेपालगञ्ज स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल’ सुरु भएको छ ।
शुक्रबारदेखि सुरु भएको फेस्टिभल आइतबारसम्म सञ्चालन रहनेछ। सुर्खेत रोडस्थित सुशील कोइराला स्मृति गेटदेखि पश्चिम वाटरपार्क क्षेत्रसम्म महोत्सव सञ्चालन भइरहेको छ।
यस महोत्सवलले नेपालगञ्ज तथा बाँके जिल्लाको पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय परिकारको पहिचान स्थापित गर्ने र होटल व्यवसायलाई सुदृढ बनाउनु रहेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले बताए।
कार्यक्रममा स्वदेशी पर्यटकसँगै छिमेकी मुलुक भारतबाट गरी ५ हजार मानिसहरुको सहभागिता रहेको छ।
महोत्सवमा स्ट्रीट फुडदेखि पाँचतारे होटलस्तरीय विभिन्न परिकार एउटै स्थानमा उपलब्ध गराइएको छ। स्थानीय स्वादिष्ट खाना, परम्परागत तथा आधुनिक खानाका परिकार, पेय पदार्थ, कला–संस्कृति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि भइरहेका छन्। महोत्सवमा विभिन्न व्यावसायिक प्रतिष्ठानहरूले करिब ४० वटा स्टलहरु राखेका छन्।
फेस्टिभलमा स्थानीय कलाकारका परम्परागत नृत्यदेखि ‘फिरन्ते’, ‘द जाप्पर्स’, ‘रकहेड्स’, ‘द ब्ल्याक होल’ र चर्चित गायक रामकृष्ण ढकाल, हास्य कलाकार तथा नायक विजय बराल, नायिका वर्षा राउत, हास्य कलाकार मेक्सम गौडेलसहितका कलाकारहरूले लाइभ म्युजिकसहितको प्रस्तुति समावेश गरिएको छ।
नेपाल पर्यटन बोर्डको प्रबर्द्धनमा होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल, बाँकेको संयुक्त आयोजनामा भइरहेको फेस्टिभलमा स्थानीय कलाकारदेखि रसियन कलाकारसम्मको नृत्य पनि रहेको छ।
स्ट्रिट फुड फेस्टिभल



