Logo
२० वैशाख २०८३, आईतबार

धनगढीमा पनि मनाइयो विश्व प्रेस स्वतन्त्रता दिवस 

अक्षरपाटी
२०८३ वैशाख २० , आईतबार १०:०५ मा प्रकाशित

धनगढी । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा “शान्तिपूर्ण भविष्यको निर्माण: मानव अधिकार विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन” भन्ने मूल नारासहित धनगढीमा ऐक्यबद्धता र्‍याली सम्पन्न गरिएको छ। 

नेपाल पत्रकार महासंघ कैलाली जिल्लाको आयोजनामा भएको उक्त कार्यक्रममा पत्रकार तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै कैलाली पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष तथा सुदूरपश्चिम संयोजक मनमोहन स्वाँरले पत्रकारको हकहित र पेशागत सुरक्षाका लागि अब पहिलेभन्दा थप सशक्त रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले बदलिँदो परिस्थितिमा प्रेसमाथि देखिएका चुनौतीहरूको सामना गर्न पत्रकारहरू एकजुट हुनुपर्ने बताए।

इन्सेकका प्रदेश संयोजक खड्कराज जोशीले लोकतन्त्रमा प्रेस स्वतन्त्रताको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै कुनै पनि बहानामा यसलाई नियन्त्रण गर्ने प्रयास स्वीकार्य नहुने धारणा राखे। उनले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप लोकतान्त्रिक मूल्यमान्यताको उल्लंघन हुने स्पष्ट पारे।


त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका अधिकृत विदेशराम चौधरीले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि गतिविधि सह्य नहुने बताए। उनले मानव अधिकारको संरक्षणमा स्वतन्त्र प्रेसको भूमिका अपरिहार्य रहेको उल्लेख गरे।


नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य योगेन्द्र बलायरले पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटनाहरू बढिरहेकोप्रति ध्यानाकर्षण गराउँदै सबै सञ्चारकर्मीलाई आचारसंहितामा आधारित रहेर समाचार संकलन गर्न आग्रह गरे।


कार्यक्रममा पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकार महासंघ सधैं पत्रकारहरूको हकहितको पक्षमा उभिँदै आएको उल्लेख गर्दै वर्तमान सरकारले पनि प्रेसमाथि चुनौती थपिरहेको आरोप लगाए। उनले पत्रकारहरूको सामूहिक हकहितका लागि सधैं ऐक्यबद्ध रहनुपर्नेमा जोड दिए।


कार्यक्रमले प्रेस स्वतन्त्रताको संरक्षण, अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता तथा पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न सबै पक्ष एकजुट हुनुपर्ने सन्देश दिएको छ। र्याली पछिको कोणसभा नेपाल पत्रकार महासंघ कैलालीका सचिव तेजराज भट्टले सञ्चालन गरेका थिए।


ट्रेन्डिङ ( साप्ताहिक )