Logo
२२ वैशाख २०८३, मंगलबार

शेखर गोल्छालाई हिरासतमा नराख्न जिल्ला अदालत काठमाडौंको आदेश

अक्षरपाटी
२०८३ वैशाख २२ , मंगलबार ०४:०५ मा प्रकाशित

काठमाडौं । जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अस्वीकार गरेको छ।

न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी भएको पक्राउ अनुमतिको म्याद नथप्ने आदेश दिएको हो। अदालतको आदेशमा प्रतिवादीलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएको उल्लेख गरिएको छ।

आदेशमा भनिएको छ, ८“प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्ने अवस्था विद्यमान नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (३) बमोजिम म्याद थप गर्न मिलेन।”

यस आदेशसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गोल्छालाई हिरासतबाट मुक्त गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउनुपर्नेछ।

यसअघि सोमबार सर्वोच्च अदालतले धरौटी वा जमानतको विकल्प हुँदाहुँदै थुनामै राखेर अनुसन्धान गरिएको विषयमा प्रश्न उठाएको थियो। यद्यपि, बीमासम्बन्धी कसुरबारे रिट निवेदनमा स्पष्ट माग नभएको भन्दै सर्वोच्च अदालतले उक्त विषयमा टिप्पणी गर्न अस्वीकार गरेको थियो।

सर्वोच्च अदालतको आदेशपछि सीआईबीले गोल्छालाई धितोपत्रसम्बन्धी कसुरको सट्टा बीमासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको बताउँदै हिरासतमा राख्ने प्रयास गरेको थियो। तर, सोही कसुरमा म्याद थपका लागि जिल्ला अदालतमा पेश गर्दा अदालतले म्याद थप्न अस्वीकार गरेको हो।

जिल्ला अदालत काठमाडौं शेखर गोल्छा

ट्रेन्डिङ ( साप्ताहिक )