



o सिर्जना बोहरा
विरोध हुँदा तिम्रो,
आत्मरक्षा कसरी गर्यौ ?
चोट पर्दा मन र मस्तिष्कलाई साहस,
कसले दियो ?
एक छाक टार्न नसक्दा ,
पेटलाई कसरी सन्तुष्ट बनायौ ?
मौसम अनुकूल वस्त्र नहुँदा,
देह रक्षा कसरी गर्यौ ?
म भन्न चाहन्छु,
अझ म तिम्रो अन्तरदृष्टिलाई बुझ्न चाहन्छु
त्यो अन्धकार रातहरूमा
भन,
जुन कसले ल्याइदियो ?
ठोक्किँदा बादलका कणहरूसँगै,
झरेर पानीका थोपा जस्तै बगेका आँसुहरू,
र तिम्रा वेदनासँग निकै समिप,
भलाकुसारी कसले गर्यो ?
संकटमय समयमा तिम्रा कदमले,
निर्भिक चालहरू चाले त, चाले कसरी ?
अठोट संकल्प सहनशीलता,
प्रेरणादायक शक्ति पैदा हुनुको पछाडिको राज के थियो होला ?
यसैगरी प्रश्नको थुप्रो थुपार्न मन छ… !
अ साँच्चै : जवाफ मेरो बाध्यता हो भने,
म त एउटै शब्दमा टुङ्ग्याइदिन्छु।
होच्याइरहँदा, लत्याइरहँदा
पीडाको लर्कोले उम्कन खोज्यो या भिज्यो त्यसैमा ?
जवाफ मेरो बाध्यता हो भने
महत्वकांक्षी शब्द तिम्रा शब्दकोशमा छैनन्।
तिमीले आफ्ना लागि महाकाव्य लेख्नुपर्ने हो ? या होइन,
एक प्रश्न छ तिमीलाई ?
जमर्को त गर्यौ तर !
समयको दौडधुपले नजरअन्दाज गरियो होला,
मेरो दृष्टिमा तिमी महान लाग्छौ !
मेरो अन्तर्भावले तिमीलाई उच्चकोटीको सम्मान दर्शाउँछ,
लक्ष्य प्राप्तिको दौडमा फगत समय खर्चियौ
या खर्चेनौ प्रश्न छ तिमीलाई ?
अन्तिम जवाफ मेरो बाध्यता हो भने,
गगन चुम्न हिँडेको यात्री
जाबो बादलको रोकावटले कहाँ गन्तव्य फेर्न र हार स्वीकार्न सकिन्छ…!!!




