Logo
२१ वैशाख २०८३, सोमबार

रास्वपाको नयाँ नियम : अन्य दल परित्याग गरेको ९० दिनपछि मात्रै ‘उम्मेदवार क्लब’मा प्रवेश

अक्षरपाटी
२०८३ वैशाख २१ , सोमबार ०२:०५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दल त्यागेर आएका व्यक्तिहरूका लागि ९० दिनको ‘कुलिङ पिरियड’ अनिवार्य गर्दै उम्मेदवार क्लबमा दर्ता हुन पाउने व्यवस्था गरेको छ।

पार्टीको केन्द्रीय सचिवालयले पारित गरेको ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा’ अनुसार अन्य दल परित्याग गरेका व्यक्तिले तीन महिना पूरा गरेपछि मात्र उम्मेदवार क्लबमा प्रवेश पाउनेछन्। पहिलोपटक पार्टी सदस्यता लिने व्यक्तिका लागि भने ४५ दिनको अवधि तोकिएको छ।

रास्वपाबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुकले अनिवार्य रूपमा ‘उम्मेदवार क्लब’मा दर्ता भई छनोट प्रक्रियामा सहभागी हुनुपर्नेछ। पार्टीले पालिका र वडा तहमा छुट्टाछुट्टै उम्मेदवार क्लबको व्यवस्था गरेको छ।

यद्यपि, समाजमा प्रतिष्ठित, विज्ञ वा विशेष क्षमता भएका व्यक्तिका लागि ‘ल्याटरल इन्ट्री’को व्यवस्था राखिएको छ, जसअन्तर्गत कुलिङ पिरियड पूरा नगरे पनि आवेदन दिन सकिनेछ। तर त्यस्ता व्यक्तिले अन्य मापदण्ड भने अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ।

उम्मेदवार छनोटका लागि रास्वपाले चार मुख्य मापदण्ड तय गरेको छ । लिडरसीप एकेडेमी (२५%), पोलिटिकल प्रोक्सिमिटी (२५%), समावेशिता (१०%) र प्रारम्भिक मतदान (४०%)।

लिडरसीप एकेडेमीमार्फत उम्मेदवारको वैचारिक स्पष्टता, जनसेवा भावना र व्यवहारिक क्षमता मूल्यांकन गरिनेछ भने पोलिटिकल प्रोक्सिमिटी अन्तर्गत विगतको पृष्ठभूमि, जनसम्बन्ध, संगठनमा सक्रियता र अनुशासन जस्ता पक्ष हेर्ने व्यवस्था गरिएको छ।

समावेशितामा जातीय, लैंगिक, भौगोलिक तथा अन्य सामाजिक आधारलाई समेटिएको छ। प्रारम्भिक मतदानमा सम्बन्धित पालिकाका पार्टी सदस्यहरूले उम्मेदवार छनोटमा मत दिन पाउनेछन्।

त्यस्तै, वडा र पालिका तहका उम्मेदवारहरूले सम्बन्धित समिति तथा उच्च तहका संरचनाबाट लिखित सहमति लिनुपर्ने व्यवस्था समेत गरिएको छ।

रास्वपाले यो प्रणालीमार्फत पारदर्शी, समावेशी र योग्य नेतृत्व चयन गर्ने लक्ष्य राखेको जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी