



काठमाडाैं। क्यान्सर ! शब्द सुन्दा पनि मरेतुल्य हुने समय वितेको धेरै भएको छैन । याे शब्द सुन्नासाथ विरामी मात्र होइन आफन्त र छरछिमेकको समेत मनमा डर, अनिश्चय र निराशा एकैचोटि आउँथ्यो। आजभन्दा दशक अघि मात्रै पनि नेपालमै क्यान्सको सम्पूर्ण उपचार हुने अवस्था थिएन।
त्यही डर, अभाव र अप्ठेराेमा आशा र सम्भावनाको दियो बाल्ने केही व्यक्तिहरूमध्ये एक हुन डा. सुदीप श्रेष्ठ।
सन २०१० तिर नेपालमा कसैलाई क्यान्सर भयो कि सामान्य उपचारका लािग पनि विदेश जानुपर्ने अवस्था थियो। विदेश जाँदा पैसा मात्र होइन समय र अप्ठेरो बिरामी भएको बेला आफन्तबाट टाढा जानुपर्दा अर्को भावनात्मक यात्रा झन् कठोर हन्थ्यो।
क्यान्सरकार बिरामीको यो अवस्थाले डा. श्रेष्ठलाई झक्झक्यायो। उनले सोचे आफ्नै देशमा क्यान्सरको उपचार किन सम्भव नबनाउने ?
त्यही हुटहुटीले वरिष्ठ मेडिकल अन्कोलोजिस्ट डा श्रेष्ठले सन २०१५ मा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर स्थापना गरे। जुन अस्पतालमा उपचार मात्र होइन, बिरामीको भराेसाको केन्द्र बन्दै गयो।
आज विदेशमाजस्तै उपचार स्वदेशमै सम्भव छ भनेर ललितपुरको हरिसिद्धिमा रहेकाे नेपाल क्यान्सर अस्पतालले सिद्ध मात्रै गरिदिएको छैन अस्पतालका अध्यक्ष तथा डा सुदीप श्रेष्ठलाई वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनले उत्कृष्टताको प्रमाणपत्र ‘Certificate of Eminence’ बाट सम्मानित गरेको छ।
‘यो केवल पुरस्कार मात्र नभएर नेपालमा गुणस्तरीय क्यान्सर उपचार सम्भव छ भन्ने विश्वासको अन्तर्राष्ट्रिय स्वीकारोक्ति हो’, डा. श्रेष्ठले प्रतिक्रिया दिए।
नेपालमा क्यान्सर उपचार लामो समयसम्म चुनौतीपूर्ण अवस्था, विदेश जानुपर्ने बाध्यता, महँगो उपचार र सीमित सुविधालाई चिर्दै डा. श्रेष्ठले देखेको एउटा सपनाले आज मुर्त रुप लिँदै गर्दा यो अवार्डले अझ हाैसला र जिम्मेवारी थपेको उनले बताए।
डा. श्रेष्ठको अनुभवमा क्यान्सरको उपचार औषधि र प्रविधिमा मात्र सीमित हुँदैन। बिरामीको मनोबल, परिवारको साथ र उपचारप्रतिको विश्वास पनि उत्तिकै अपरिहार्य हुन्छ। त्यही कारण नेपाल क्यान्सर अस्पतालमा अत्याधुनिक प्रविधिसँगै मानवीय सेवाको संस्कृति र परिवारको साथलाई विशेष जोड दिइन्छ।
वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनबाट प्राप्त सम्मानले आफूहरुले वर्षाैँदेखि गरेको इमान्दार मेहनत, समर्पण र सक्रियतालाई विश्वस्तरले नियालीरहेको र यसले नेपालका स्वास्थ्यकर्मीहरूका लागि प्रेरणा मिलेको अस्पतालको भनाइ छ।
यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको डा. श्रेष्ठको भनाइ छ। उनले नेपाललाई क्यान्सर उपचारको क्षेत्रमा आत्मनिर्भर बनाउने र प्रत्येक बिरामीलाई पहुँचयोग्य, गुणस्तरीय सेवा सुनिश्चित गर्ने सपनालाई यसले थप शसक्त भएर लाग्ने प्रेरणा मिलेको बताए।
डा. सुदीप श्रेष्ठ नेपाल क्यान्सर हस्पिटल



