Logo
२९ वैशाख २०८३, मंगलबार

देशका धेरै स्थानमा वर्षाको सम्भावना, पोखरा–ताप्लेजुङमा भारी वर्षा हुन सक्ने

अक्षरपाटी
२०८३ वैशाख २९ , मंगलबार १०:०५ मा प्रकाशित

काठमाडौं । देशका विभिन्न स्थानमा मंगलबार वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने सम्भावना देखिएको हो ।

विभागका अनुसार पोखरा, जिरी र ताप्लेजुङमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना ७० प्रतिशत रहेको छ । यस्तै काठमाडौं, ओखलढुंगा, धनकुटा र जोमसोममा मध्यम वर्षाको सम्भावना ६० प्रतिशत रहेको जनाइएको छ ।

डडेलधुरा, दिपायल, जुम्ला, घोराही, भैरहवा, सिमरा र धरानलगायत स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ । सोमबार दिउँसो र रातिदेखि नै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेल ले पश्चिमी वायु पुनः सक्रिय भएकाले वर्षा क्रम केही दिन जारी रहने बताएका छन् । उनका अनुसार जेठको मध्यसम्म देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिए पनि सबै क्षेत्रमा दैनिक वर्षा नहुन सक्छ ।

यस्तै, मौसमविद् उज्ज्वल उपाध्याय ले सुदूरपश्चिम प्रदेशबाट प्रवेश गरेको प्रणालीका कारण वर्षा सक्रिय भएको उल्लेख गरेका छन् । उनका अनुसार मंगलबार दिउँसो र अपराह्नतिर पुनः वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग