Logo
३० वैशाख २०८३, बुधबार

केन्द्री सदस्य मनोनयन कांग्रेसमा विवादको नयाँ बिउ, देउवा पक्षद्वारा समानान्तर महाधिवेशनको तयारी !

अक्षरपाटी
२०८३ वैशाख ३० , बुधबार ०९:०५ मा प्रकाशित

काठमाडौं। सोमबार कांग्रेस सभापति गगन कुमार थापाले देउवा पक्षका १२ र कोइराला पक्षका सात गरी १९ नेतालाई आफ्नो केन्द्रीय सिमितमा मनोनित गरे।

उक्त मनोनयनपछि कांग्रेसमा विवादको नयाँ बिउ रोपिएको कांग्रेस वृतमा चर्चा छ।

कांग्रेस संस्थापन पक्षले असोज १६ देखि १९ सम्म १५औँ महाधिवेशनको मिति घोषणा गरेर क्रियाशील सदस्यता अद्यावधिक गरिरहेको भएका बेला शेरबहादुर देउवा पक्षले पनि राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेर महाधिवेशनको मिति तोक्ने तयारी थालेको हो।

राष्ट्रिय कार्यकर्ता भेलाको तयारी स्वरुपम सँस्थापन इतर पक्षले प्रदेश भेला सुरु गरेको छ। यही शिलशिलामा देउवा पक्षले मंगलबार डा. शेखर कोइराला पक्षको समेत उपस्थितिमा कोशी प्रदेशस्तरीय भेला सम्पनन् गरेको छ।

आफूहरूसँग परामर्श नै नगरी केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. कोइरालाले असन्तुष्टि जनाइसकेका छन्। यो असन्तुष्टिले कांग्रेसलाई समानान्तर महाधिवेशनतिर धकेलेको कांग्रेसमा चर्चा छ।

मंगलबार इतर पक्षको कोशी प्रदेशस्तरीय भेलामा कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मालगायत नेताहरू सहभागी थिए।

कोइराला पक्षका नेता केदार कार्की पनि सहभागी थिए। कोशी भेलाको जिम्मा नेता सिटौलाले नै पाएका थिए, जसलाई गत १६ वैशाखमा संस्थापन पक्षले राष्ट्रिय सभा संसदीय दलको नेताबाट समेत हटाएको थियो।

देउवा पक्षले आज बुधबार बागमती प्रदेशस्तरीय भेला गर्दै छ। बागमतीको भेलाको जिम्मेवारी प्रकाशमान सिंह र प्रकाशशरण महतलाई दिएको छ।

त्यस्तै, मधेश प्रदेशमा जेठ दोस्रो सातासम्म भेला गरिसक्ने तयारी छ, त्यसको तयारी आनन्द ढुंगानालाई दिएको छ।

गण्डकीमा मेखलाल श्रेष्ठ, लुम्बिनीमा किशोरसिंह राठौर, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई भेलाको जिम्मा दिएको छ।

भेलाबाट क्रियाशील सदस्यता अद्यावधिक र जरा अभियानको अवज्ञा गर्ने गरी प्रदेशगत जिम्मेवारी तोकिएको इतर पक्षले जनाएको छ। यो समूहले काठमाडौंमा सम्पर्क कार्यालयका लागि भाडाको घर समेत खोजिरहेको बुझिएको छ।

कांग्रेस गगन थापा शेरबहादुर देउवा

ट्रेन्डिङ ( साप्ताहिक )