Logo
११ जेठ २०८३, सोमबार

नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक निर्वाचित

अक्षरपाटी
२०८३ जेठ ११ , सोमबार १०:०५ मा प्रकाशित

धनगढी । धनगढीस्थित नवजीवन सहकारी संस्था लिमिटेड को अध्यक्षमा गोपालराज पाठक विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा निकटतम प्रतिस्पर्धी केशवराज मिश्रलाई तीन सय १५ मतान्तरले पराजित गर्दै पाठक अध्यक्षमा निर्वाचित भएका हुन्।

निर्वाचन समितिका अनुसार पाठकले ४ हजार ७८४ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी मिश्रले ४ हजार ४६९ मत ल्याउँदा अर्का उम्मेदवार घनबहादुर शाहले ३ हजार ६४४ मत प्राप्त गरेका छन्।

तीन प्यानलबीच भएको प्रतिस्पर्धामा पाठक प्यानलले अधिकांश पदमा जित हात पारेको छ भने मिश्र प्यानल पूरै पराजित भएको छ। शाह प्यानलबाट भने एक जना सदस्य मात्रै विजयी भएका छन्।

उपाध्यक्षमा पाठक प्यानलकै उम्मेदवार उत्तम जोशी ४ हजार ३०३ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी ईश्वरप्रसाद जोशीले ३ हजार ९०४ तथा उपेन्द्र विष्टले ३ हजार १९५ मत प्राप्त गरेका छन्।

लेखा सुपरिवेक्षण समितिको संयोजकमा गणेशप्रसाद जोशी ५ हजार १७२ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी चेतराज जोशीले ५ हजार ३३ मत प्राप्त गरे। समितिको सदस्यमा खेमराज पाठक र गणेशप्रसाद पाध्याय विजयी भएका छन्।

कार्यसमितिको सदस्य पदमा स्वतन्त्र उम्मेदवार केशवराज जोशी सर्वाधिक ५ हजार १४३ मतसहित विजयी भए। यस्तै, कोपिला कुँवर, गणेश बम, जयराज जोशी र लक्ष्मीराज पन्त पाठक प्यानलबाट निर्वाचित भएका छन्। स्वतन्त्र उम्मेदवार खेमराज पाण्डेय तथा शाह प्यानलका दिर्घबहादुर शाह पनि सदस्यमा विजयी भएका छन्।

धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेड देशकै अग्रणी सहकारी संस्थामध्ये एक मानिन्छ। संस्थामा कुल ४० हजार ८१४ शेयर सदस्य रहेका छन्। शनिबार सम्पन्न निर्वाचनमा १५ हजार २४१ मत खसेको निर्वाचन समितिले जनाएको छ।

गोपालराज पाठक निर्वाचित नवजीवन सहकारी संस्था लिमिटेड

ट्रेन्डिङ ( साप्ताहिक )