



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले यस वर्षको गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले त्यससम्बन्धी जानकारी राष्ट्रपति कार्यालयलाई गराइसकेको स्रोतले जनाएको छ ।
हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना हुने गर्दछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने र प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको छ ।
तर यसपटक प्रधानमन्त्री बालेन शाहले समारोहलाई सम्बोधन नगर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रहसहित पत्राचार गरेका छन् ।
स्रोतका अनुसार मन्त्रिपरिषद्को निर्णय तथा संविधानको व्यवस्था अनुसार गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई नै समारोह सम्बोधन गर्न अनुरोध गरिएको हो ।
नेपालको संविधानको धारा ६६ अनुसार राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस र सम्मतिमा कार्य गर्ने व्यवस्था छ । सोही संवैधानिक व्यवस्था अनुसार यस वर्ष गणतन्त्र दिवस समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिएको जनाइएको छ ।
प्रधानमन्त्री बनेयता सार्वजनिक समारोह तथा औपचारिक कार्यक्रममा कमै देखिएका बालेन शाह यस वर्षको गणतन्त्र दिवसको मुख्य समारोहमा पनि सम्बोधनबाट टाढा रहने भएका हुन् ।
गणतन्त्र दिवस बालेन शाह



