धनगढी ९ मंसिर। मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका कुनै पनि उम्मेदवार विजयी भएनन्।
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ सिटमध्ये सत्ता गठबन्धनमा सामेल माओवादी केन्द्रले चार स्थानमा उम्मेदवार उठाएको थियो। तर भाग पाएका सबै स्थानमा माओवादीका कुनै पनि उम्मेदवारले जित निकाल्न सकेका छैनन्।
कञ्चनपुर १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिना मगर पराजित भइन्। बिनालाई हराउँदै एमालेका तारालामा तामाङ विजयी बने ।
कैलाली २ र ३, कञ्चनपुरको क्षेत्र नम्बर १ र बैतडीमा माओवादीका उम्मेदवार चुनावी मैदानमा थिए। तर, चारवटै क्षेत्रमा माओवादीका उम्मेदवारले पराजय भोगेका छन्।
कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी माओवादीका संविधानसभा सदस्यसमेत रहेका कृष्णकुमार चौधरीलाई पराजित गर्दै विजयी भए।
यस्तै कैलाली २ मा माओवादीका उम्मेदवार भगतबहादुर बडुवाललाई नागरिक उन्मुक्ति पार्टीकै अरुण चौधरीले पराजित गरे।
बैतडीमा पनि माओवादीको हात हार नै लाग्यो। बैतडीमा माओवादीका नरेन्द्र कुँवरलाई पराजित गर्दै एमालेका दामोदर भण्डारी विजयी भएका छन्।
माओवादी सुदूरपश्चिम