Logo
५ असार २०८३, शुक्रबार

तिमी मेरो पहिलो प्रेमी हौ

अक्षरपाटी
२०८३ असार ५ , शुक्रबार ०३:०६ मा प्रकाशित

o लीला अनमोल

विवाहका वैदिक मन्त्र र अग्निका फेराहरू,
सामाजिक दायित्वका सुन्दर रीतहरू एकातिर छन्

तर,
यी सबै औपचारिकताको सिमानाभन्दा धेरै पर
म एउटा शाश्वत सत्यको गहिराई स्पर्श गर्दैछु
जहाँ तिमी छौ र मात्र तिम्रो चेतना छ !

हो प्रिय,
तिमी मेरो पहिलो प्रेमी हौ!

कुनै योजनाको गणितीय हिसाब बिना
नजानी-नजानी, कुन अद्वैत क्षणमा हो कुन्नि
मेरो अस्तित्व तिम्रो मुरलीको धूनमा समाहित भएछ।

प्रेम थुप्रै सम्बन्ध भन्दा पर-
राधाको जस्तो विसर्जन र कृष्णको जस्तो विस्तार रहेछ।
जहाँ प्राप्ति शून्य बन्छ र समर्पण अनन्त
त्यहाँ न कुनै माग हुन्छ, न कुनै गुनासो।

प्रिय,
संसार भुलेर जब म तिम्रो भावमा हराउँछु
तब बुझ्छु- प्रेम त पाउनु होइन, आफैँलाई गुमाउनु रहेछ।
दायित्व र कर्तव्यका भौतिक पर्खालहरूभन्दा धेरै माथि
मेरो प्रेम एउटा दार्शनिक चेतना बनेर बगिरहेछ।

जसरी नदी सागरमा मिसिएपछि नदी रहँदैन
त्यसैगरी म तिमीमा मिसिएपछि म रहिनँ।
यो रित्तिनु नै मेरो ब्रह्माण्डीय पूर्णता हो।

तिमी मेरो सामाजिक पहिचान होइनौ
तिमी त मेरो आत्माले रोजेको पहिलो परम-तत्व हौ।
विवाहपछिको यो मौन र गहिरो अनुभूतिमा पनि
म तिमीलाई पाउनुको अहङ्कार होइन
तिमीमा हराउनुको दिव्य आनन्द उत्सव मनाइरहेछु।

हो,
तिमी मेरो पहिलो प्रेमी हौ!

कविता लीला अनमोल
यो पनि हेर्नुहोस् : एउटा मधुरो विश्वास