


धनगढी। कैलालीको गोदावरी नगरपालिका–४, गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले समिति गठन गरेको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज बिष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार मन्त्रीस्तरीय निर्णयबाट गठन गरिएको समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।
गत २९ जेठमा वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले टेम्पोलाई भिरबाट खसालेको भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा र विवाद सिर्जना गरेको थियो। घटनापछि प्रदेश सरकारले यथार्थता पत्ता लगाउन छानबिन समिति गठन गरेको हो।
सचिव कोइरालाले मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिएको बताउँदै निष्पक्ष छानबिन गरी दोषी देखिएकामाथि आवश्यक कारबाही गरिने जानकारी दिए।
यसैबीच, घटनाबारे सोधपुछका लागि प्रहरीले १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।
छानबिन समिति वन तथा वातावरण मन्त्रालय

