Logo
१५ असार २०८३, सोमबार

गृहमन्त्रीकै गाडीबाट हटाइयो स्टिकर : कालो शिसा हटाउने अभियान सुरु

अक्षरपाटी
२०८३ असार १५ , सोमबार ०९:०६ मा प्रकाशित

काठमाडौं । सरकारले सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर (टिन्टेड ग्लास) हटाउने अभियान सुरु गरेको छ।

अभियानको प्रभावकारी कार्यान्वयनका लागि गृहमन्त्री सुधन गुरुङको अग्रसरतामा गृहमन्त्री तथा गृहसचिवको सरकारी सवारी साधनबाट कालो स्टिकर हटाएर अभियानको औपचारिक सुरुआत गरिएको हो।

गृह मन्त्रालयका अनुसार विद्यमान कानुनी व्यवस्थाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अन्य कुनै पनि विशिष्ट व्यक्ति तथा सर्वसाधारणले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ ले तोकेको मापदण्डअनुसार मात्र टिन्टेड ग्लास प्रयोग गर्न पाउँछन्।

कानुनअनुसार सम्बन्धित निकायमा धरौटी राखी अधिकतम २० प्रतिशतसम्म मात्र टिन्ट प्रयोग गर्न पाइने व्यवस्था रहेको छ। सोभन्दा बढी कालो शिसा वा कालो स्टिकर प्रयोग गर्नु गैरकानुनी मानिन्छ।

मन्त्रालयले कालो शिसा तथा कालो स्टिकरको दुरुपयोगबाट आपराधिक गतिविधि, अवैध कारोबार, फरार अपराधीको आवागमन, हतियार ओसारपसार तथा शङ्कास्पद व्यक्तिको पहिचानमा हुने कठिनाइ न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाएको छ।

गृह मन्त्रालयले सबै सरकारी निकाय, विशिष्ट व्यक्ति तथा सर्वसाधारणलाई कानुनी व्यवस्थाको पूर्ण पालना गर्दै सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर हटाउन आग्रह गरेको छ।

गृहमन्त्री सुधन गुरुङ

ट्रेन्डिङ ( साप्ताहिक )