Logo
१७ असार २०८३, बुधबार

जङ्गली बँदेलका लागि श्रीमानले थापेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

अक्षरपाटी
२०८३ असार १७ , बुधबार १०:०७ मा प्रकाशित

गुल्मी । गुल्मीमा जङ्गली बँदेल नियन्त्रण गर्न श्रीमानले थापेको विद्युतीय धरापमा परेर श्रीमतीको मृत्यु भएको छ।

धुर्कोट गाउँपालिका–५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीले आफ्नो बारीमा बँदेल नियन्त्रणका लागि राखेको विद्युतीय धरापमा परेर उनकी ६० वर्षीया श्रीमती हुमकला भण्डारीको मंगलबार मध्यराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रहरीका अनुसार भेषराजले घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा साँझ बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी विद्युतीय धराप थापेका थिए। मध्यराति करिब १:३० बजे बँदेल परेको आशंकामा हुमकला एक्लै बारीतर्फ जाँदा गल्तीवश धराप छोएपछि करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्।

उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्‍याइए पनि चिकित्सकले बिहान ३:२५ बजे मृत घोषणा गरेका थिए।

घटनापछि छिमेकीले उनको चिच्याहट सुनेर प्रहरीको १०० नम्बरमा खबर गरेका थिए। प्रहरीका अनुसार गाउँलेले खबर गरेपछि मात्रै श्रीमानले घटनाबारे जानकारी पाएका थिए।

घटनामा संलग्न श्रीमान भेषराज भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

भण्डारी दम्पतीका दुई छोरा र एक बुहारी रोजगारीका लागि दुबईमा छन् भने छोरीको विवाह भइसकेको छ। घरमा वृद्ध दम्पती मात्रै बस्दै आएका थिए।

स्थानीयका अनुसार जङ्गली जनावरबाट खेती जोगाउन गाउँका धेरै किसानले यस्ता विद्युतीय धराप राख्ने गरेका छन्। तर, यस्ता धराप मानव जीवनका लागि अत्यन्त जोखिमपूर्ण हुने भएकाले प्रहरीले गैरकानुनी विद्युतीय धराप प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

विद्युतीय पासो

ट्रेन्डिङ ( साप्ताहिक )