


काठमाडौं । सरकारले नयाँ मुख्य सचिव नियुक्तदेखि गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने, काठमाडौं उपत्यका विकास प्राधिकरणमा नयाँ विकास आयुक्त नियुक्ति र दुई महत्त्वपूर्ण शैक्षिक नियमावली स्वीकृत गर्ने लगायत आठ महत्त्वपूर्ण निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिए।
बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गरेको छ।
त्यसैगरी, कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ। सरकारले यस निर्णयले सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाको पहुँच विस्तार हुने अपेक्षा गरेको छ।
मन्त्रिपरिषद्ले ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ तथा ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत गरेको छ।
यी नियमावलीमार्फत विदेशी शैक्षिक कार्यक्रम, भाषा शिक्षण संस्था र शैक्षिक परामर्श सेवाको सञ्चालन तथा नियमनलाई थप व्यवस्थित बनाइने सरकारको विश्वास छ।
यस्तै, बैठकले ‘कारागार नियमावली, २०८३’ स्वीकृत गरेको छ। यससँगै मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना र भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना पनि स्वीकृत गरिएको छ।
सरकारका अनुसार यी निर्णयहरू सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, शिक्षा क्षेत्रको नियमन सुदृढ गर्ने, स्वास्थ्य सेवा विस्तार गर्ने तथा मानव अधिकार संरक्षण र भ्रष्टाचार नियन्त्रणलाई थप मजबुत बनाउने उद्देश्यका साथ गरिएको सरकारले जनाएको छ।
मन्त्रिपरिषद्

