


धनगढी । सुदूरपश्चिममा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार हुँदै गएको छ। यसैक्रममा ओम्नी मोबिलिटी प्रालिले धनगढीमा एकैदिन ६ वटा किटोन (KYC) ईभी भ्यान ग्राहकलाई हस्तान्तरण गरेको छ।
बढ्दो इन्धन मूल्य, कम सञ्चालन खर्च र वातावरणमैत्री प्रविधिप्रतिको बढ्दो आकर्षणका कारण व्यवसायीहरू विद्युतीय सवारीसाधनतर्फ आकर्षित हुन थालेका छन्। सार्वजनिक यातायात, होटल, शैक्षिक संस्था तथा विभिन्न व्यावसायिक क्षेत्रले पनि ईभीलाई भरपर्दो विकल्पका रूपमा रोज्न थालेको कम्पनीको भनाइ छ।

दैनिक व्यावसायिक सञ्चालनलाई लक्षित गरी डिजाइन गरिएको किटोन ईभी भ्यानमा १४ सिट क्षमता र २०० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ। भ्यानमा जडान गरिएको ५३.५८ किलोवाट–घण्टा (kWh) क्षमताको CATL ब्याट्रीले पूर्ण चार्जमा करिब ३०० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ। यसबाट इन्धन खर्चमा उल्लेख्य बचत हुने र व्यवसायीलाई सञ्चालन लागत घटाउन सहयोग पुग्ने विश्वास कम्पनीको छ।
ओम्नी मोबिलिटीका अनुसार नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनप्रति व्यवसायीहरूको रुचि निरन्तर बढ्दै गएको छ। यही मागलाई ध्यानमा राख्दै कम्पनीले बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको सहज उपलब्धता तथा दक्ष प्राविधिक सहयोगलाई प्राथमिकतामा राखेको जनाएको छ।

हाल कम्पनीले नेपाली बजारमा किटोन ईभी भ्यान, चेरी वान्डा ईभी बस तथा चेभू ईभी भ्यान उपलब्ध गराउँदै आएको छ। देशभर सेवा सञ्जाल विस्तार गर्दै विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोगलाई थप प्रवर्द्धन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
ईभी भ्यान

