Logo
११ साउन २०८३, सोमबार

देवानगञ्ज गोलीकाण्डपछि तनाव: शान्ति र संयमता अपनाउन अपिल

अक्षरपाटी
२०८३ साउन ११ , सोमबार १०:०७ मा प्रकाशित

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई समूहबीच उत्पन्न विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने करिब दुई दर्जन व्यक्ति घाइते भएका छन्। घटनापछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ।

आइतबार मध्यराति देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनामा प्रहरीको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो।

घटनामा नाै जना सर्वसाधारण, नेपाल प्रहरीका आठ जना र सशस्त्र प्रहरीका पाँच जना गरी २२ जना घाइते भएका छन्।

घाइतेमध्ये अधिकांशको कम्मरमाथिको संवेदनशील भागमा गोली लागेको बताइएको छ। उनीहरूको अवस्था गम्भीर रहेकाले विभिन्न अस्पतालमा उपचार भइरहेको स्रोतले जनाएको छ।

घटनापछि स्थानीयवासी आक्रोशित भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। तनाव थप बढ्न नदिन स्थानीय प्रशासनले आज विहानबाट देवानगञ्ज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। सुरक्षा निकायको थप टोली परिचालन गरी अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

यसैबीच, सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले घटनालाई अत्यन्तै गम्भीर र खेदजनक भएको बताएका छन्। घटनास्थल पुगेर सुरक्षा निकायका अधिकारीसँग छलफल गरेका थापाले प्रहरीले गोली चलाउनुपर्ने अवस्था नरहेको दाबी गरे।

‘कुनै पनि हालतमा गोली चलाउनुपर्ने कन्डिसन छँदै थिएन,’ थापाले प्रतिक्रिया दिँदै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे।

उता, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले देवानगञ्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सबै पक्षलाई शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेकी छन्।

मन्त्री मेहताले संवेदनशील परिस्थितिमा कुनै पनि अपुष्ट सूचना, अफवाह वा भ्रामक सामग्रीमा विश्वास नगर्न सबै नागरिकलाई अनुरोध गरेकी छन्। सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलाइने अपुष्ट सूचनाले परिस्थिति थप जटिल बन्न सक्ने उल्लेख गर्दै उनले आधिकारिक स्रोतबाट पुष्टि भएका जानकारीलाई मात्र विश्वास गर्न आग्रह गरिन्।

देवानगञ्जको घटनापछि उत्पन्न परिस्थितिलाई लिएर स्थानीय प्रशासन, सुरक्षा निकाय तथा राजनीतिक नेतृत्वबीच निरन्तर समन्वय भइरहेको छ। घटनाको वास्तविक कारण र गोली चलाउनुपरेको अवस्थाबारे अनुसन्धान सुरु भएको छ भने घाइतेहरूको उपचार र शान्ति सुरक्षा कायम गर्न सरकारी निकायहरू सक्रिय छन्।