Logo
३१ साउन २०८३, आईतबार

प्रचारबाजी बन्द गर, डिलरलाई ग्यास देऊ : सरकारसँग ग्यास विक्रेता महासंघको कडा माग

अक्षरपाटी
२०८३ साउन ३१ , आईतबार ०२:०८ मा प्रकाशित

काठमाडौं । देशभर खाना पकाउने एलपी ग्यासको अभाव चर्किरहेका बेला ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न नाममा सञ्चालित बिक्री केन्द्रबाट भइरहेको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले प्रभावकारी वितरण प्रणालीका रूपमा रहेको विक्रेता तथा डिलरलाई पन्छाएर उद्योग र विभिन्न केन्द्रमार्फत ग्यास बिक्री गर्ने निर्णयले बजारमा अभाव झनै जटिल बनेको दाबी गरे।

उनका अनुसार ग्यास डिलरमार्फत वितरण प्रणाली व्यवस्थित गरिए उपभोक्ताले भोग्दै आएको सास्ती अन्त्य हुने र वास्तविक समस्या समाधान गर्न सहज हुनेछ।

महासंघले एकातिर विक्रेतालाई पर्याप्त ग्यास उपलब्ध नगराउने र अर्कोतिर अनुगमनका नाममा विक्रेतालाई दुःख दिने सरकारी रवैयाले बजार थप भद्रगोल बनेको आरोप लगाएको छ।

महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकार, उद्योग र बिक्री केन्द्रका नामबाट आफैं ग्यास बिक्री गर्ने, अनि अनुगमनका नाममा आम विक्रेतालाई अनावश्यक दुःख दिने सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति प्रकट गर्दछ।’

महासंघले उद्योग तथा विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको प्रत्यक्ष बिक्री रोक्दै विक्रेतामार्फत मात्र ग्यास बिक्री–वितरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ।

यसैबीच, पछिल्लो चार महिनामा करिब ६० हजार टन ग्यास कम आयात भएको तथ्यांक पनि महासंघले सार्वजनिक गरेको छ। आयातमा आएको कमी र बजारमा रहेको वितरण प्रणालीको समस्याका कारण अहिलेको अभाव उत्पन्न भएको महासंघको भनाइ छ।

महासंघका अनुसार बजारमा आवश्यकताभन्दा बढी करिब ८० लाख नयाँ सिलिन्डर छरिएका छन्। नयाँ सिलिन्डरको बिक्री अझै नरोकिएको भन्दै महासंघले यसलाई तत्काल नियन्त्रण नगरिए आगामी वर्षहरूमा ग्यास अभावको समस्या झनै विकराल बन्न सक्ने चेतावनी दिएको छ।

महासंघले वास्तविक समस्या समाधान गर्नुको सट्टा नेपाल आयल निगम, वाणिज्य मन्त्रालय तथा सरकारले अनावश्यक प्रचारबाजीमा मात्रै जोड दिएको आरोपसमेत लगाएको छ।

महासंघले तत्काल समस्या समाधानका लागि ग्यासको आयात तथा आपूर्ति सहज बनाउन, नयाँ सिलिन्डरको बिक्री नियन्त्रण गर्न र डिलरमार्फत मात्रै उपभोक्तालाई ग्यास उपलब्ध गराउने व्यवस्था गर्न माग गरेको छ।

एलपी ग्यास ग्यास अभाब