Logo
२ भदौ २०८३, मंगलबार

सभामुखले ‘मर्यादित बन्नुस्’ भनेपछि रिसाएर हिँडिन आशिका

अक्षरपाटी
२०८३ भदौ २ , मंगलबार ०३:०८ मा प्रकाशित

मन्त्रीको जवाफमा चित्त नबुझेपछि उठेर प्रश्न गर्न खोज्दा सभामुखले रोके, निर्देशनपछि झोंकिँदै बाहिरिइन्

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले प्रतिनिधिसभाको बैठक छाडेकी छन् ।

कम्बोडियामा ३७ दिनअघि निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै सांसद तामाङले प्रश्न उठाएकी थिइन् । उक्त विषयमा सभामुखले मंगलबार रुलिङ गरेपछि परराष्ट्रमन्त्री खनालले आज संसद्मा जवाफ दिएका थिए ।

तर, मन्त्री खनालले जवाफ दिइरहेका बेला तामाङ उठेर थप प्रश्न गर्न पाउनुपर्ने अडान राखेकी थिइन् । सभामुखले उनलाई बोल्न समय नदिएको भन्दै आफ्नो स्थानमा बस्न आग्रह गरे ।

‘मैले बोल्न समय दिएको छैन, बस्नुस्,’ सभामुखले भने ।

सभामुखको आग्रहपछि पनि तामाङले आफूले बोल्न पाउनुपर्ने अडान कायमै राखिन् । उनी उठेर बोल्न खोजेपछि सभामुखले उनलाई संसद्को मर्यादामा रहन निर्देशन दिए ।

सभामुखको निर्देशनपछि सांसद तामाङ झोला टिपेर बैठकबाट बाहिरिएकी हुन् । उनी झोंकिँदै बैठक कक्षबाट बाहिरिएको दृश्य संसद् बैठकमा देखिएको थियो ।

मन्त्री खनालको जवाफमा चित्त नबुझेपछि आफूले तत्काल प्रश्न राख्न खोजेको तामाङको भनाइ थियो । तर, सभामुखले बोल्ने समय नदिएपछि उनी बैठक छाडेर बाहिरिएकी हुन् ।

सन्तोष राईको शव नेपाल ल्याउने विषयमा सरकारले गरेको पहल र पछिल्लो अवस्थाबारे मन्त्री खनालले संसद्मा जवाफ दिएका थिए । सोही विषयलाई लिएर सांसद तामाङले यसअघि पनि सरकारको ध्यानाकर्षण गराउँदै आएकी थिइन् ।

आशिका तामाङ