Logo
६ भदौ २०८३, शनिबार

हेटौंडा कपडा उद्योगका लागि अर्थबाट तत्काल बजेट नलिने : मन्त्री गौरी कुमारी

अक्षरपाटी
२०८३ भदौ ६ , शनिबार ०८:०८ मा प्रकाशित

हेटौंडा। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले अर्थ मन्त्रालयबाट थप बजेट नमागी हेटौंडा कपडा उद्योग उद्योग संचालन गरिने बताएकी छन्।

मन्त्री यादवले कानुनी प्रकृया मिलाएर औद्योगिक क्षेत्रबाट वर्षौंदेखि उठ्न नसकेको करिब आधा अर्ब रुपैयाँ बराबरको भाडा बक्यौता असुल गरिएको रकमलाई नै हेटौंडा कपडा उद्योगको स्तरउन्नती तथा सञ्चालनमा खर्च गर्ने गरी व्यवस्था मिलाउने बताइन्।

लामाे समयदेखि बन्द अवस्थामा रहेर परीक्षण सञ्चालनमा रहेको कपडा उद्योगको आज स्थलगत अवलोकन गर्दै मन्त्री यादवले उद्योगलाई अब परीक्षणमै सीमित नराखी नियमित र निरन्तर उत्पादनमा लैजानुपर्ने बताइन्।

हाल उद्योगमा १० वटा लुम सञ्चालन गरेर कपडा उत्पादन भइरहेको तथा थप १० वटा मेसिनसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिइएको छ। नेपाली सेनाका प्रतिनिधिहरूले उद्योगमा रहेका सम्पूर्ण मेसिन तथा उपकरणको अवस्था परीक्षण तथा निरीक्षण गरिरहेको र सम्भव भएसम्म थप मेसिन सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी मन्त्री यादवलाई गराएका थिए।

मन्त्री यादवले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै उद्योगलाई दिगो रूपमा सञ्चालन गर्न नेपाली सेनाको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गरिन्।

उनले भनिन्, ‘अब हेटौंडा कपडा उद्योग निरन्तर सञ्चालन हुनुपर्छ। त्यसका लागि अझै अग्रसर भएर आवश्यक सहयोग गर्न नेपाली सेनालाई अनुरोध गर्दछु।’

मन्त्री यादवले आफूहरूले दिएको समयसीमाभित्रै उद्योगलाई परीक्षण सञ्चालनमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाली सेनालाई धन्यवादसमेत दिइन्।

नेपालकै सबैभन्दा ठूलो टेक्सटाइल उद्योगका रूपमा हेटौँडा कपडा उद्योगलाई हेरिएको र यसमा रहेका सम्पूर्ण मेसिन सञ्चालनमा ल्याउन सके नेपाललाई पर्याप्त मात्रामा कपडा उत्पादन गर्न सकिने उद्योगमन्त्री यादवको विश्वास छ।

गौरीकुमारी यादव